आर्थिक

अवकाशपछि कालिजपालन

२०७९ चैत १३ गते १४:२४
अवकाशपछि कालिजपालन

१३ चैत २०७९ दाङ । तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नं ६ निवासी विण्णुमणि आचार्यले व्यावसायिकरूपले कालिज पालन गर्नुभएको छ ।

सोही पेसामा रमाउनुभएका उहाँको दिनचर्या कालिजलाई दानापानी खुवाउन र रेखदेखमा बित्ने गरेको छ । अवकाश प्राप्त राष्ट्रसेवक आचार्य भन्नुहुन्छ “अवकाश भएपछि चार महिनासम्म घरमै बसँे । दिनभर घरपरिवार साथीभाइ तथा आफन्तसँग त्यत्तिकै बसेर समय बिताउँथे । तीस वर्षसम्म जागिरमा व्यस्त भएको मान्छे अब यसरी सधँै कसरी बस्नुजस्तो लागेकाले यो व्यवसाय सुरु गरेको हुँ ।” सुरुमा सामाजिक सञ्जाल (युटुब)मार्फत व्यावसायिकरूपमा पालन गरिएका कालिजको भिडियो हेरँे । त्यसपछि कालिजपालन गरिएको जिल्लाका दुई ठाउँमा पुगेँ । घरमा फर्केपछि उत्साहित भएर यो व्यवसाय सुरु गरेको उहाँ उल्लेख गर्नुहुन्छ ।

“दाङ उपत्यका कालिज पाल्न उपयुक्त वातावरण भएको भन्ने थाहा पाएरै यो व्यावसाय सुरुआत गरेको हुँ अहिलेसम्म तीनसय भन्दाबढी कालिज बिक्री गरिसकेँ । अझै पाँच सयवटा बिक्रीका लागि तयारी अवस्थामा छन् ।” आचार्य भन्नुहुन्छ । उहाँले ‘चाणक्य मल्टी प्रपोज एग्रो फार्म एण्ड रिसर्च सेन्टर’ प्राली खोलेर रु २५ लाखको लागतमा कालिजपालन सुरु गर्नुभएको हो ।

ह्याचिङ गरी उत्पादन गरिएका एक दिनका १८१ बचेरा रु पाँच सय ५० दरले किनेर यो व्यवसाय सुरुआत गर्नुभएका आचार्यको व्यवसाय अहिले फस्टाउँदै गएको छ । उहाँले एक जनालाई रोजगारी रोजगारी दिनुभएको छ ।

आचार्यका अनुसार ३५ डिग्री सेल्सियसभन्दा कम तापक्रम हुने स्थान कालिज पाल्न राम्रो मानिन्छ । दाङको तापक्रम लगभग त्यस्तै छ । “अहिलेसम्म पाँच सय कालिज बिक्री गरिसकेँ । सुरुमा एउटा कालिजलाई दुई हजार पाँच सयमा बिक्री गरँे । अहिले भने दुई हजारसम्ममा दिने गरेको छु । अण्डा पनि राम्रोसँग बिक्री भएको छ । एउटा अण्डा बिक्रीबाट रु एकसय आम्दानी हुने गरेको छ । सुरुआतमै धेरै आम्दानीको अपेक्षा लिन हुँदैन विस्तारै आम्दानी हुन्छ”, उहाँ भन्नुहुन्छ ।

छ महिना पुगेपछि कालिज वयस्क हुन्छ र मासुका लागि उपयुक्त मानिन्छ । भाले कालिज एकदेखि डेढ केजीसम्म र पोथी आठ सय ग्रामदेखि एक केजीसम्मको हुन्छ । कालिजले घाँस, मकै खान्छ । अण्डा दिने पोथीका लागि दाना पनि दिन उपयुक्त हुन्छ । कालिजलाई हालसम्म कुनै रोग नलागेकाले औषधि पनि दिनुपरेको छैन तर अवलोकन तथा खरिद गर्ने जानेलाई जुत्ता, चप्पल खोलेर खुट्टामा औषधि छर्केरमात्र नजिक जान दिने उहाँले गर्नुभएको छ ।

“कालिज फुर्तिलो र लडाकु स्वभावको हुन्छ । त्यसैले चुच्चो मुखमा क्याप लगाउनुपर्छ । विदेशमा त्यही गरिन्छ । यहाँ भने त्यसो गरिएको छैन उनीहरु लड्न लागेपछि औजारको सहायताले छुट्याउने र केही समय छट्टै ठाउँमा राख्ने गरेको छु”, आचार्य भन्नुहुन्छ ।

भाले र पोथी कालिजलाई छुट्टाछुट्टै राखिएको र अहिले पोथी बिक्री नगरी अण्डालाई ह्याचिङ गरी बचेरा निकाल्नका लागि तयारी गरिएको उहाँको भनाइ छ ।

“बजारमा माग त धेरै छ, तर यो वर्ष पोथी कालिज र बच्चा एउटा पनि नबेची धेरै उत्पादन भएमा अर्को वर्षदेखि मात्रै बिक्री गर्छु”, आचार्य भन्नुहुन्छ । पढेलेखेकाले पैसा कमाउनकै लागि जागिर खानै पर्ने या विदेश नै जानुपर्छ भन्ने छैन तर राज्यले पनि किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *