आर्थिक

सात महिनामा नेपाली प्लाइउडको निर्यात ६ गुणाले बढ्यो (भिडियो रिपोर्टसहित)

२०७९ चैत ७ गते १८:३४
सात महिनामा नेपाली प्लाइउडको निर्यात ६ गुणाले बढ्यो (भिडियो रिपोर्टसहित)

७ चैत २०७९ बाँके । सरकारले अनुदान दिएपछि नेपालमा प्लाइउड उत्पादन र निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । अनुदान दिन सुरु भएको सात महिना मै निर्यातमा ६ गुणाले बढेको छ । यसले व्यवसायीलाई उत्साहित बनाएको छ भने देशको अर्थतन्त्रमा समेत टेवा दिएको छ ।

तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पालामा गत असोजमा प्लाई उड निर्यातमा सरकारले चारदेखि आठ प्रतिशतसम्म नगद अनुदान दिने कार्यविधि जारी गर्यो ।

यो कार्यविधि जारी भएपछि कार्तिकबाट सुरु भएको प्लाइउड निर्यात उत्साहजनक रुपमा बृद्धि भएको छ । निकासी सुरु भएको ६ महिनामै प्लाइउड नेपालगञ्ज नाकाबाट सबैभन्दा धेरै निर्यात हुने बस्तुको सातौं नम्बरमा आएको छ ।

पछिल्ला दिनहरुमा प्लाइउड काकडभिट्टा, विराटनगर, कृष्णनगर, भैरहवा, मलंगवा, जनकपुर र नेपालगञ्ज गरी सात नाकाबाट भारत निर्यात भइरहेको छ । गत आर्थिक वर्षमा ३५ करोडको प्लाइउड भारत निर्यात भएकोमा यस आर्थिक वर्षको सात महिनामा दुई अर्व १६ करोडको प्लाइउड निर्यात भइसकेको छ ।

अनुदान दिएपछि प्लाईउड निर्यात गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा १२ गुणाले बढ्ने देखिएको छ । भारतमा उत्पादन हुने प्लाइउड भन्दा नेपालमा उत्पादन हुने प्लाई उडको गुणस्तर राम्रो भएकाले भारतमा नेपाली प्लाई उडको माग बढ्दै गएको छ ।

नेपालमा प्लाइउडका ७५ वटा उद्योग छन । ती उद्योगहरुले ७० देखि ७५ प्रतिशत स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर प्लाइउड उत्पादन गर्दै आएका छन । नरम प्रजातिका र छिटो वृद्धि हुने प्रकारका रुखका काठबाट प्लाइउड उत्पादन हुन्छ ।

पहाडमा उत्पादन हुने उत्तिस, मलातो र सउर तथा तराईमा उत्पादन हुने मसला, आप, कदम, लहरे पिपल लगायतका रुखका काठबाट प्लाइवुड उत्पादन गरिन्छ । प्लाइउड उत्पादनमा प्रयोग गरिने अधिकाश काठका रुखहरू किसानले आफ्नै खेतबारीमा उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *