प्रधानमन्त्रीबाटै ट्वीटर ह्याण्डल ‘दुरुपयाेग'(भिडियो रिपोर्टसहित)
१ चैत २०७९ काठमाडौं । दलबाट निर्वाचित भए वा दलको नेतृत्वमा रहिरहे पनि प्रधानमन्त्री सबैका साझा हुन्। र, उनबाट नागरिकले साझा चरित्रकै अपेक्षा गर्छन्। तर, स(साना कुरामा ख्याल नगर्दा वा निरन्तर अटेरी गर्दा प्रधानमन्त्रीको साझा चरित्रमै प्रश्न उठ्छ। जस्तो- प्रधानमन्त्री कार्यालयको ट्वीटर ह्याण्डल।
प्रधानमन्त्री कार्यालयको भएकाले त्यो ट्वीटर ह्याण्डल सरकारी हो। र, त्यसबाट प्रधानमन्त्रीका सरकारी गतिविधि, सूचना वा जानकारीको मात्रै अपेक्षा गरिन्छ। तर, प्रधानमन्त्रीले दुरुपयोग गरेर त्यो ह्याण्डललाई व्यक्ति र पार्टीगत प्लेटफर्म बनाइरहेका छन्।
पुस १० गते अर्थात् डिसेम्बर २९, २०२२ मा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहालका तर्फबाट पीएमओ नेपाल ट्वीटर ह्याण्डलमा पुस १७, २०७९ अर्थात् १ जनवरी २०२३ बाट सूचना वा जानकारी प्रेसित भइरहेको छ।
पछिल्लो समय चाहिँ त्यो ह्याण्डलले लगातार सीएमप्रचण्ड डट कमको प्रोमोसन गरिरहेको छ। अर्थात्, त्यसमा सीएमप्रचण्ड हट कममा समाचार शेयर हुन्छन्। सीएमप्रचण्ड डट कम प्रधानमन्त्री दाहालको व्यक्तिगत वेभसाइट हो।
अब, प्रधानमन्त्री कार्यालयको सरकारी ह्याण्डल पीएमओ नेपालबाट सीएमप्रचण्ड डट कमका सामग्री शेयर भएका केही उदाहरण हेरौं। जुन विशुद्ध राजनीतिक छन्।
मार्च ११ अर्थात् फागुन २७ गते ‘केही दिनमा समाजवादी मोर्चा बन्छ’ भन्ने सीएमप्रचण्डमा प्रकाशित समाचार पीएमओ नेपालमा शेयर गरिएको छ।
मार्च ५ अर्थात् २१ गते ‘माओवादीको सबै भंगाला मिसिएर विशाल सागर बन्छौं’ भन्ने सीएमप्रचण्डमा प्रकाशित समाचार पीएमओ नेपालमा शेयर गरिएको छ।
मार्च २ अर्थात् फागुन १८ गते ‘संसद विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोच्यौं’ भन्ने सीएमप्रचण्डमा प्रकाशित समाचार पीएमओ नेपालमा शेयर गरिएको छ।
माओवादी केन्द्रको अध्यक्षका रुपमा दाहालले दिएका अभिव्यक्ति जुन सीएमप्रचण्ड डटकमबाट प्रधानमन्त्री कार्यालयको ट्वीटर ह्याण्डल पीएमओ नेपालमा शेयर गरिएको छ। प्रधानमन्त्रीका कतिपय गतिविधिका न्यूज वा तस्वीर त पहिला सीएमप्रचण्ड डट कममा प्रकाशित गरेर मात्रै त्यसको लिंक सरकारी ह्याण्डलमा शेयरसमेत गरिएको छ।
दाहालको पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा दोहोरो भूमिका छ। तत्तत् भूमिकाको प्रचारका लागि उनीसँग व्यक्तिगत र सरकारी छुट्टाछुट्टै प्लेटफर्म पनि छन्। पार्टीसँग सम्बन्धित गतिविधि व्यक्तिगत वेभसाइटमा र सरकारसँग सम्बन्धित सूचना, जानकारी वा तस्वीर सरकारी ह्याण्डलबाट प्रचार गर्नुपर्ने हो। तर, प्रधानमन्त्रीको सचिवालयले सरकारी ह्याण्डललाई नै माओवादी अध्यक्षको व्यक्तिगतजस्तो बनाइरहेको छ। किन ?
पार्टीसँग सम्बन्धित गतिविधि वा भनाइ सरकारी ह्याण्डलबाट प्रचार गर्न थालिएसँगै ट्वीटर प्रयोगकर्ताले पीएमओ नेपाल र सीएमप्रचण्डजस्ता ह्याण्डललाई मेन्सन नै गरेर खबरदारी गरे, गरिरहेका छन्। तर, सुनुवाई भएको छैन। बरु, पोष्टको रफ्तार बढेको छ।
जानकार, सरकारी ह्याण्डलबाट व्यक्तिगत वा पार्टी सम्वद्ध सामग्री प्रेसित गर्नुलाई सरकारी स्रोत-साधनको दुरुपयोग ठान्छन्। उनीहरु भन्छन्, प्रधानमन्त्रीबाटै प्रविधिको दुरुपयोग हुनु दुःखद् हो।
प्रतिक्रिया