आर्थिक

कोसेली घरमा गिठा भ्याकुरदेखि कैदीबन्दीले बनाएका मुढासम्म

२०७९ फागुन ३० गते १५:४८
कोसेली घरमा गिठा भ्याकुरदेखि कैदीबन्दीले बनाएका मुढासम्म

३० फागुन २०७९ दमौली । तनहुँ जिल्लामै पहिलो पटक सञ्चालनमा आएको कोसेली घरमा वनजङ्गलमा पाइने गिठाभ्याकुर र सिस्नोदेखि कारागारका कैदीबन्दीले उत्पादन गरेका मुढा बिक्री वितरणका लागि राखिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ महिला उद्यमी समिति तनहुँले सञ्चालनमा ल्याएको कोसेली घरमा वनजङ्गलमा पाइने गिठा भ्याकुरका साथै घरेलु उत्पादन बिक्री वितरणका लागि राखिएको हो ।

महिला उद्यमीलाई उद्यमशील बनाउने उद्देश्यसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, पर्यटन तथा उद्योग कार्यालय र व्यास नगरपालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याइएको समितिकी अध्यक्ष कल्पना गौलीले बताउनुभयो ।

जिल्लाभरका महिला उद्यमीले उत्पादन गरेका सामग्री समितिले खरिद गरी कोसेली घरमा राखेको गौली बताउनुहुन्छ । “जिल्लाका आठवटा पालिकामा रहनुभएका महिला उद्यमीबाट सामग्री खरिद गरी ल्याएका छौँ, कसैलाई पनि हालसम्म भुक्तानी दिएका छैनौँ”, गौलीले भन्नुभयो ।

दशवटै पालिकाका उद्यमीबाट सामान ल्याउने भनिए पनि हाललाई आठवटा पालिकाबाट मात्र सामान ल्याइएको छ । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाबाट धेरै सामान आएको भन्दै गौलीले भन्नुभयो, “सबै ठाउँको प्रतिनिधित्व होस् भन्नका लागि केही न केही सामान ल्याएका छाँै ।”

वनबाट गिठा भ्याकुर टिपेर ल्याउने महिलाहरुका लागि पनि केही आर्थिक उपार्जन होस् भन्ने हेतुले बिक्री वितरणको व्यवस्था मिलाइएको छ । “अरू केही आर्थिक उपार्जनको माध्यम नभएका महिलालाई पनि राहत होस् भन्नका लागि गिठाभ्याकुर खरिद गरी बिक्री वितरणको व्यवस्था मिलाएका छौँ”, गौलीले भन्नुभयो ।

कोसेली घरबाट कारागारका कैदीबन्दीले बुनेका मुढा बिक्री वितरणको व्यवस्था मिलाइएको छ । “कैदीबन्दीले कारागारबाटै पनि मुढा बिक्री गर्दै आउनुभएको छ, तर सबैलाई सहज होस् भनेर हामीले कोसेली घरमा मुढा बिक्रीका लागि राखिदिएका छौँ”, गौलीले भन्नुभयो । कारागारका बन्दीहरुले ल्याएको सामानमा नाफा नराखी बिक्री वितरण गरिने जनाइएको छ ।

कोसेली घरबाट सामान बिक्री गर्दा आउने नाफाको दुई प्रतिशत रकम उद्यमी राहत कोष स्थापना गरी जम्मा गरिनेछ । उक्त कोषबाट विपन्न महिलालाई भैपरी आउँदा सहयोग गरिनेछ ।

कोसेली घरमा गिठाभ्याकुर, सिस्नो, मस्यौरा, गुन्द्रुक, कर्कलो, अमलाको अचार, मूलाको चाना, लप्सी, चिउरा, रातो बेसार, धूप, टपरी, कोदो, कुचो, मुढा, ढकिया, झोला, बाँसका विभिन्न सामग्री बिक्री वितरणका लागि राखिएको छ ।

महिलाहरुले उत्पादन गरेको सामग्री बिक्री वितरणका लागि कोसेली घरले पुलको काम गर्ने उद्यमी मछिन्द्रादेवी श्रेष्ठले बताउनुभयो । महिला उद्यमी सङ्घकी सदस्य वसुन्धरा घर्तीले कोसेली घरलाई ब्रान्डका रुपमा विकास गरिने बताउनुभयो ।

जिल्लामा आयोजना हुने कार्यक्रममा मायाको चिनो प्रदान गर्नुपर्दा कोसेली घरका सामग्रीलाई प्राथमिकता दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो ।

कोसेली घर सञ्चालनका लागि पर्यटन तथा उद्योग कार्यालयले भवन निर्माण गरी हस्तान्तरण गरेको छ । कोसेली घर सञ्चालनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट रू सात लाख सहयोग गरिएको छ ।

उक्त रकमबाट सजावट, कोसेली घर सञ्चालनका लागि आवश्यक कम्प्युटर, गोदाम घर निर्माण गरिएको छ । कोसेली घर निर्माणका लागि व्यास नगरपालिकाले पनि बिउ पुँजीका रुपमा रू पाँच लाख सहयोग गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *