आर्थिक

उखु क्रसिङ भएसँगै बारा र पर्साका किसानलाई चटारो (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २९ गते १७:५६
उखु क्रसिङ भएसँगै बारा र पर्साका किसानलाई चटारो (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७९ पर्सा । किसानको खेतमा उखु सकिएपछि दुई महिनाअगावै मधेश प्रदेशका विभिन्न जिल्लामा सुगर मिल बन्द भएका छन् ।

चैत अन्तिमसम्म क्रसिङ गर्नुपर्ने सुगर मिल उखु अभावले बन्द भएपनि बारा र पर्सामा रहेको रिलायन्स चिनी मिलले भने अहिले पनि उखु क्रसिङ गरिरहेको छ । अझै १५ दिन क्रसिङ हुने भएसँगै किसानलाई अहिले चटारो छ ।

बाराको कलैया उपमहानगरपालिकाको वडा न १६ मा रहेको रिलायन्स चिनी मिलले अहिलेसम्म १७ लाख ५२ हजार क्वीन्टल उखु क्रसिङ्ग गरि सकेको छ । रिलायन्स सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रा।लि।ले दैनिक २५ हजार क्वीन्टल उखु क्रसिङ्ग हुदैँ आएको जनाएको छ ।

यसबर्ष भने २० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । पुस १३ गतेबाट मिलले उखु क्रसिङ सुरु गरेकोमा फागुन २८ सम्म १७ लाख ५२ हजार क्वीन्टल उखु क्रसिङ्ग भएको छ । किसानले लगाएको उखु क्रसिङ्ग गर्न करिब १० देखि १५ दिन अझै लाग्ने र रिलायन्स सुगर मिल्सलाई उखु प्रदान गरेको किसानले माघ सम्मको भुक्तानी समेत पाइसकेका छन् ।

चालु आर्थिक वर्ष २०७९–८० मा उखु खेती गरेका किसानको अनुसार करिब २२ लाख क्वीन्टल उखु उत्पादन हुने लक्ष्य देखिएको छ । चिनी मिलले २०७८–०७९ मा बारा, पर्साका किसानले लगाएको साढे १३ लाख क्वीन्टल उखु क्रसिङ गरेको थियो ।

किसानले उत्पादन गरेको उखुको मुल्य भने यस वर्ष ५ सय ४० कारखानाले दिने र सरकारबाट ७० रुपैयाँ थप गरी प्रति क्वीन्टल ६ सय १० मा उखु खरिद गर्ने गरिएको र रिलायन्स चिनी मिल्सले समयमै सबै किसानलाई भुक्तानी दिने गरेको किसान बताउँछन् ।

हरेक वर्ष लगानी अनुसारको उखुको मूल्य बढाउन वा महँगो मूल्यमा विक्री गर्न किसानले माग गरेपनि एउटा निश्चित मूल्यमा खरिदविक्री भइरहेको छ । पर्सा तथा बाराका किसानले करिब ७ हजार बढी बिगहा क्षेत्रफलमा उखु खेती गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *