आर्थिक

लघुवित्तविरुद्ध आक्रोश (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २९ गते १७:४५
लघुवित्तविरुद्ध आक्रोश (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७९ काठमाडौं । नेपालमा औपचारिक रुपमा सञ्चालनमा आएको ३० वर्षयता लघुवित्तमा यो पहिलो संकट हो । प्रवाह गरेको कर्जा असुली हुन नसक्दा लघुवित्त क्षेत्र यतिखेर समस्यामा छ ।

३३ लाख ऋणीलाई करिब ४ खर्ब ५० अर्ब रुपैयाँ ऋण प्रवाह गरेका लघुवित्तले कर्जा उठाउन सकेका छैनन् । कर्जा उठाउन ऋणीमाथि भइरहेको ज्यादतीका कारण बाँकेमा लघुवित्त खारेजीको माग उठ्न थालेको छ ।

चर्को ब्याज असुली गरेको, राष्ट्र बैंकको नियमभन्दा बाहिर गई धितो लिएको, ऋणीहरूमाथि अभद्र व्यवहार गरेको जस्ता आरोप तथा गुनासोको सामना लघुवित्त संस्थाहरूले गरिरहेका छन् । यतिखेर लघुवित्तविरुद्ध आन्दोलन गरिरहेका आन्दोलनकारीहरूले लघुवित्त खारेजीको माग नै गरेका छन् ।

हुन पनि लघुवित्तका कर्मचारीले पुरानो ऋण तिर्ने ऋणीलाई थप ऋण दिने आश्वासन दिएपछि यो समस्या विकराल बनेको छ । मिटर ब्याजीबाट चर्को ब्याजमा ऋण लिएर लघुवित्तलाई ऋण तिरेपनि थप ऋण नदिएपछि यो समस्या निम्तिएको छ । ऋण असुलीको नाममा गाली गलौज र घम्की दिने गरेको पीडितको गुनासो छ ।

आर्थिक मन्दीका कारण आम्दानीका स्रोत घट्दै गएका कारण समय मै ब्याजदरका तिर्न नसक्दा ब्याज समेत सावामा जोडिंदै गएपछि आफ्नो ऋण कति पुग्यो भन्ने समेत ऋणीलाई पत्तो छैन । लघुवित्त र बैँकको चर्को ब्याजदरका विरुद्ध ऋण लिएका ग्रामीण क्षेत्रका महिलादेखि उद्योगी व्यवसायीले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई भएको छैन ।

ऋण तिर्न नसकेर आत्महत्या गर्ने, घर छाडेर फरार हुने, लघुवित्त संस्थाले ऋणीहरुबाट वस्तुभाउ जफत गर्ने जस्ता समस्या निम्तिएका छन् । राष्ट्र बैँकका अनुसार नेपालमा ६४ वटा लघुवित्त संस्था छन् । कुल ३३ लाख ऋणी छन् भने लघुवित्तले ४ सय ५७ अर्ब रुपैया कर्जा प्रवाह गरेको पछिल्लो तथ्याङक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *