आर्थिक

ब्याजदर नघटेपछि व्यवसायी पुनः बैंकविरुद्ध आन्दोलनमा, व्यवसाय नै बन्द गर्ने चेतावनी (भिडियो रिपोर्टसहित)

२०७९ फागुन ५ गते २१:२३
ब्याजदर नघटेपछि व्यवसायी पुनः बैंकविरुद्ध आन्दोलनमा, व्यवसाय नै बन्द गर्ने चेतावनी (भिडियो रिपोर्टसहित)

५ फागुन २०७९ काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिविरुद्ध उद्योग व्यवसायीले पुनः सडक आन्दोलन थालेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर घटाउने आश्वासन दिए पनि बैंक तथा वित्तीय संस्थाहरुले त्यसो नगरेको भन्दै व्यवसायीले काठमाडौंमा प्रर्दशन गरेका हुन् । कर्जाको ब्याजदर एकल अंकमा नझारे व्यवसाय नै बन्द गर्ने उनीहरुको चेतावनी छ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले पुस १३ गते उद्योगी, व्यवसायीहरुलाई वार्तामा बोलाएर कर्जाको ब्याजदर वृद्धिको समस्यालाई तत्काल सम्बोधन गर्ने आश्वासन दिनुभयो । कात्तिकदेखि आन्दोलनमा रहेका व्यवसायीले मन्त्री पौडेलको आश्वासनपछि आन्दोलन पनि स्थगित गरे । तर अहिलेसम्म पनि ब्याजदर नघटेपछि व्यवसायी पुनः सठक आन्दोलनमा उक्रिएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा अन्य ९ वटा व्यवसायिक महासंघ तथा ५० वटा संघ संस्थाले शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली सहित बैंक तथा वित्तीय संस्था विरुद्ध प्रर्दशन गरे । असार अघि ८ प्रतिशतमा लिएको कर्जाको ब्याजदर अहिले बढाएर १९ प्रतिशतसम्म पुर्याएकाले त्यसलाई घटाएर एक अंकमा ल्याउनुपर्ने उनीहरुको माग छ ।

राष्ट्र बैंकले ब्याजदर स्थिर राख्न तथा घटाउन कुनै पनि समन्वयकारी भूमिका निर्वाह नगरेको आरोप व्यवसायीले लगाएका छन् । मुलुकको उद्योग, व्यवसाय बचाउन पनि एक अंकको ब्याजदर कायम गर्न र तत्कालका लागि लिलामी गर्ने नीतिगत व्यवस्था खारेज गर्न उनीहरुको माग छ । यी माग सम्बोधन नगरे व्यवसाय बन्द गर्ने चेतावनी व्यवसायीले दिएका छन् ।

बैंक तथा वित्तीय संस्थाले माघमा निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशत कायम गरेका थिए । फागुनमा पनि त्यसमा घटबढ नगर्ने निर्णय गरिसकेका छन् । तर कर्जाको ब्याजदर भने चैत १ देखि मात्र घट्ने जनाएका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले कायम ऋणीको ब्याजदर परिवर्तन गर्न एउटा त्रैमास अर्थात तीन महिनाभरीको औसत आधारदर अनुसार मात्र परिवर्तन गर्न पाउने व्यवस्था छ । यसको कारण मारमा ऋणीहरु परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *