Main News

रेशम चौधरी : जेल बन्यो पार्टी कार्यालय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २९ गते २१:३७
रेशम चौधरी : जेल बन्यो पार्टी कार्यालय (भिडियो रिपोर्टसहित)

२९ माघ २०७९ काठमाडौं । सामान्यतया कैदी भन्नासाथ एउटा मलिन अनुहार, कमजोर शारीरिक र मानसिक अवस्था, अनि चार दिवारबाट मुक्तिका लागि याचना गरिरहेको टिठलाग्दो दृष्य मानसपटलमा नाच्दछ । तर काठमाडौंको डिल्लीबजारस्थित सदरखोरमा एक जना यस्ता कैदी छन् जसको वरिपरी सान्त्वना दिने होइन, लिनेको भीड लाग्छ, सहयोगको याचना गर्नेहरु त्यहाँ पुग्छन् र ढाडस बोकेर फर्किन्छन् ।

उनका पछाडि प्रहरी होइन, नेता र कार्यकर्ता हुन्छन् । राज्यसत्ता र संयन्त्रका विशिष्टहरु उनको दर्शन पाउन लाइन लागिरहेका हुन्छन् । ती कैदी हुन् रेशम चौधरी । जसले यो देशमा सरकार बनाउने र ढाल्ने सामर्थ्य राख्छन् ।

२०७२ भदौ ७ गते भएको टीकापुर घटनाका मुख्य दोषी चौधरी २०७५ वैशाख ३ गते देखि यही कारागारमा छन् ।

७ सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा अदालतबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका उनी फगत चर्चामा मात्र छैनन्, बरु पार्टी गठन गरेर संघ र प्रदेशमा बलियो उपस्थिति जनाएका छन् भने सरकार बनाउने र ढलाउने खेलसमेत सफल रुपमा खेलेका छन् ।

नेपालको फौजदारी संहिता २०७४ अनुसार सबैभन्दा कठोर सजाय भनेकै सर्वस्वसहित जन्म कैद हो । रेशम चौधरी क्रुर तथा अमानवीय हत्याको मुद्दामा दोषी ठहर भएर पाउने सबैभन्दा कठिन सजाय भोगिरहेका छन् । तर कठिन सजाय भोगिरहेका चौधरी कारागारलाई नै पार्टी कार्यालय बनाउन सफल छन् ।

फरार अभियुक्तकै रुपमा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतसहित कैलालीबाट संघीय सांसद निर्वाचित भएका उनी यो बीचमा संसद भवनमै छिर्नुबाहेक सबैजसो गतिविधिमा संलग्न छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन सरकारले आफ्नो शक्ति विस्तारका क्रममा चौधरीलाई निर्वाचित भएको एक वर्षपछि सिंहदरबारमा शपथको चाँजोपाँजो मिलायो । शपथपछि जेलमै फर्किए पनि उनी संघीय संसदको लोगोप्राप्त सांसद बने । २०७८ साउन ११ गते तत्कालीन जनता समाजवादी पार्टीमा फुट र आधिकारिकताको लडाइँ हुँदा चौधरी निर्णायक मत बनेर निर्वाचन आयोग पुगे र हस्ताक्षर गरे ।

त्यसयता आफूले निर्वाचन जितेको तत्कालीन राष्ट्रिय जनता पार्टीका नेताहरुको साथ छोडेका उनले जेलमै नागरिक उन्मुक्ति पार्टी गठन गरे । यो पार्टीले कैलाली र पश्चिम तराईका अरु केही जिल्लामा आफूलाई बलियो रुपमा पेश गर्यो । गत प्रतिनिधिसभा निर्वाचनमा चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीले संघमा ४ र प्रदेशमा ७ सिट सुरक्षित गर्‍यो ।

गत पुस १० गते नयाँ गठबन्धन बन्दा महत्वपूर्ण हैसियत पाएको चौधरीको पार्टी यसपटक सुदूरपश्चिम प्रदेश ढलाउन सफल भइसकेको छ ।

चौधरीले कारागारबाटै गरेको राजनीतिले सत्तामा उलटपुलत गर्न सफल भइसकेको छ भने सत्ता बनाउन र जोगाउन चाहनेहरु अब कारागार धाउनुपर्ने वातावरण बनेको छ । चौधरीको आत्मकथा बधुँवा कमैयामा उल्लेख भएअनुसार उनलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक सबैजसो शीर्ष नेता कारागार पुगेका छन् ।

आम मानिसहरुका लागि कैद भुक्तान गर्ने र गल्तीहरुको प्रायश्चित गर्ने कारागार चौधरीका लागि पार्टी निर्माण गर्ने, परिचालन गर्ने र समग्रमा सत्ता संचालन गर्ने अड्डा बनेको छ । २०७४ को निर्वाचन जितेपछि संसद छिर्न पाएको भए यसपटक चौधरी आफैले चुनाव जित्न कति सहज हुने थियो त्यो त भन्न सकिँदैन तर जेलभित्रै रहेर उनले थारु समुदायलाई प्रभावमा लिन गरिरहेको प्रयास सर्वथा सफल भएको छ । अर्कोतर्फ न्याय र सजायमा राज्यबाटै कतिसम्मको विभेद हुन्छ भन्ने कुराको उदाहरण पनि रेशम चौधरीको जेलजीवनले नै प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *