आर्थिक

चिराइतोको मूल्य बढेपछि ताप्लेजुङका किसान हर्षित (भिडियो रिपोर्टसहित)

२०७९ माघ २५ गते १७:३५
चिराइतोको मूल्य बढेपछि ताप्लेजुङका किसान हर्षित (भिडियो रिपोर्टसहित)

२५ माघ २०७९ ताप्लेजुङ । ताप्लेजुङमा चिराइतो उखेल्ने सिजनमै मूल्य बढेपछि किसान हर्षित भएका छन् । कोरोनाका कारण नाका बन्द भएर ३ वर्षदेखि निर्यात हुन नसकेर घरमै थन्क्याएर राखेको चिराइतो अहिले धमाधम विक्री हुन थालेपछि किसानको आम्दानीले पुनः निरन्तरता पाउन सुरु भएको हो ।

३ वर्षअघि प्रतिमन (४० केजीको) ५ हजार रुपैँयामा झरेको चिराइतोको भाउ अहिले ३० हजार रुपैयाँ सम्ममा खरिद विक्री भईरहेको छ ।

चीन निर्यात हुँदै आएको चिराइतो नाका बन्द भएपछि खरिद विक्री नै ठप्प भएको थियो । अहिले भारत निर्यात हुन थालेसँगै पुनः कारोबार सुरु भएको छ । मूल्य बढेसँगै किसान मात्र नभई चिराइतो व्यवसायी समेत सङ्कलन गर्न ब्यस्त भएका छन् ।

अन्य बालीलाई जंगली जनावरले प्रभाव पार्छन् । तर, चिराइतोको स्वाद तितो हुने भएकाले जंगली जनावरको खासै असर देखिँदैन । त्यसैले किसानले शतप्रतिशत उत्पादन प्राप्त गर्छन् । हिमाली भेगमा मात्र उत्पादन हुने भएकाले पाखा बारीमा चिराइतोको बिउ लगाएपछि करिब ३० महिनापछि उखेल्न मिल्ने हुन्छ ।

चिराइतोको भाउ निरन्तर घट्न थालेकाले किसानले खेती गर्न विस्तारै छोड्दै गएका थिए । तर अहिले भाउ बढ्ने सङ्केत देखेपछि खेती गर्ने किसानको संख्या बढ्ने अनुमान गरिएको छ ।

गाउँघरमा ज्वरो तथा रुघाखोकीका बिरामीलाई चिराइतोे खुवाउने चलन छ । स्वास्थ्यबर्द्धक भएपनि मूल्यमा तीव्र उत्तारचढाव भएपछि किसान ठूलो परिमाणमा खेती गर्न भने हच्केका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *