आर्थिक

चिया निर्यातबाट बर्सेनि रु तीन करोड विदेशी मुद्रा आर्जन

२०७९ माघ २४ गते ७:५३
चिया निर्यातबाट बर्सेनि रु तीन करोड विदेशी मुद्रा आर्जन

२४ माघ २०७९ झापा । चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले नेपालमा २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको बताउनुभयो । त्यसमध्ये झापामा मात्र १० हजार पाँच सय हेक्टर जमिनमा चियाखेती हुँदै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मुलुकमा उत्पादित चियामध्ये ९९ प्रतिशत प्रदेश नं १ मा हुने गरेको छ ।” प्रमुख अधिकारीले प्रदेश नं १ मध्ये झापामा सबैभन्दा बढी वार्षिक एक करोड ८० लाख केजी चिया उत्पादन हुने बताउनुभयो ।

नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सिटीसी गरी ६८ वटा ठूला चिया उद्योग रहेको उहाँको भनाइ छ । उहाँले मुलुकमा एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा रहेको जानकारी दिनुभयो । बोर्डको तथ्याङ्कमा मुलुकमा एक सय ६० वटा भन्दा बढी चिया बगान रहेका छन् । पन्ध्र हजारभन्दा बढी साना किसानले चियाखेती गर्दै आएका छन् भने ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको बोर्डको दाबी छ ।

प्रमुख अधिकारीले देशभरमा १७ हजार बढी चिया कृषक चियाखेतीमा आबद्ध रहेको जानकारी दिनुभयो । उहाँले पहाडी भू–भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको बताउनुभयो ।

उहाँले झापामा उत्पादित सिटीसी चियाका लागि समेत ‘ट्रेडमार्क’ जारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । चिया क्षेत्रमा वर्षौँदेखि पहल गरे पनि ‘अक्सन सेन्टर’ सञ्चालनमा आउन नसक्दा चिया सरोकारवाला चिन्तित छन् ।

प्रभावकारी गुणस्तरीय ट्रेडमार्क प्रमाणीकरण, चियाको गुणस्तरमा एकरुपता र गुणस्तरीय हरियो चियापत्ती टिपाइमा प्रोत्साहन कार्यक्रम लागू गर्न सके चिया क्षेत्रलाई राहत हुने नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश मित्तलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *