Main News

कम्युनिष्टहरूको एउटै केन्द्र आवश्यक छः प्रधानमन्त्री दाहाल

२०७९ माघ ६ गते १५:०८
कम्युनिष्टहरूको एउटै केन्द्र आवश्यक छः  प्रधानमन्त्री दाहाल

६ माघ २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सच्चा कम्युनिष्टको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “संविधानमा समाजवाद उन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन । नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस चलिरहेको छ । नेपालका सबै कम्युनिष्ट पार्टीबीच यस विषयमा छलफल सुरू भएको छ । तपाईंहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ ।”

भेटमा नेकपा (बहुमत)का नेताहरूले प्रधानमन्त्री दाहालसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न माग प्रस्तुत गरेका थिए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ । अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु ।” उहाँले जनयुद्ध, थारु, मधेसलगायत विभिन्न आन्दोलन र सङ्घर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइका विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । यसअघि नै अध्यादेशमार्फत् विधेयक ल्याउने भनिएकोमा संसद् सञ्चालन भएकाले यो विषयमा अब संसदबाट नै विधेयक पास गर्ने उहाँको भनाइ छ ।

सो अवसरमा नेकपा(बहुमत)का नेता बास्तोलाले बन्दी अवस्थामा रहेका नेता कार्यकर्ताको रिहाइ, जनजीविकाका सवालमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । प्रधानमन्त्रीले ज्ञापनपत्रका उल्लेख भएका अधिकांश विषयको सम्बोधनका लागि सरकारको तर्फबाट आवश्यक पहल गर्ने विश्वास दिलाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *