सुर्खेतको भाइरल बाघ : सुधार गरेर राम्रो बनाइँदै (भिडियो रिपोर्टसहित)

२०७९ पुष २३ गते २१:२३
सुर्खेतको भाइरल बाघ : सुधार गरेर राम्रो बनाइँदै (भिडियो रिपोर्टसहित)

२३ पुस २०७९ सुर्खेत । सुर्खेतको सहिद पार्कमा निर्माण गरिएका पाटेबाघका मूर्ति सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

ती मूर्ति निर्माणबारे धेरै रकम खर्चेर अनावश्यक बनाइएको भनेर धेरैले चर्चा गरिरहेका छन् भने कतिपयले मूर्ति बनाउन १३ लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन् । अनौठो ढंगले निर्माण गरिएको मूर्तिले पार्कको चर्चा बढेको छ । तर, अहिले बाघको मूर्तिलाई काँटछाँट गरेर स्पष्ट आकार आउने गरी बनाउन लगाइएको छ ।

तपाईले सामाजिक सञ्जालमा देख्नुभएको भाइरल बाघ सुर्खेतस्थित सहिद पार्कको हो । भैरव सामुदायिक वन क्षेत्रमा रहेको पर्यटकीय स्थल सहिद पार्कमा राख्नका लागि पार्क व्यवस्थापन समितिले पाटेबाघको मूर्ति बनाएको थियो । केही समय पहिले बनाएको एउटा मूर्ति टुक्रिन थालेपछि समितिले अर्को मूर्ति बनाएको थियो । त्यही आकृति नमिलेको बाघसँग सेल्फी लिने र भिडियो खिच्नेको भने भीड छ ।

भैरव सामुदायिक वनका अनुुसार भाइरल बनेको मूर्ति बनाउन ५० हजार रुपैयाँ खर्च भएको छ । सहिद पार्कको गेटमा राखिएको महिलाको मूर्ति र पछिल्लो पटक बनाइएको पाटेबाघको मूर्ति गरी कूल एक लाख पाँच हजार रुपैयाँ खर्च भएको छ ।

पहिले बनाएको मूर्ति गुणस्तरीय नदेखिएका कारण पछि ५० हजार रकम कालिगढलाई दिएर नयाँ मूर्ति निर्माण गरिएको हो । तर, मूर्तिका आकृति र बनोटलाई लिएर टिप्पणी हुन थालेपछि अहिले काँटछाँट गरेर त्यसलाई बाघकै स्वरूपमा ल्याउने प्रयास भइरहेको छ ।

खासमा यो मूर्ति १५ वर्षदेखि कालीगढको अनुभव भएका ललितपुर निवासी सीताराम डिम्डुङले बनाएका हुन् । हतारमा काम गरेकाले स्वरूप नमिलेको स्वीकार गरेका छन् । तर, त्यसलाई स्वरूपमा ल्याउने कालीगढले प्रतिबद्धता जनाएका छन् ।

साढे ३ करोडमा बनेको पार्कमा बनाइएको मूर्ति भाइरल नभइदिएको भए सायद परिवर्तन पनि हुँदैन थियो होला । तर, सामाजिक सञ्जालमा निकै विरोध भएपछि भने स्वरूप फेर्ने निर्णय गर्नु सराहनीय छ । अब यही मूर्तिसँग जोडेर हालिएका अन्य बेढंगका आकृति फेर्नेतर्फ सम्बन्धित निकायको पनि ध्यान जाला कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *