आर्थिक

सरकारले धान खरिद नगरेकोमा किसान रुष्ट (भिडियो रिपोर्टसहित)

२०७९ पुष ३ गते १७:५०
सरकारले धान खरिद नगरेकोमा किसान रुष्ट (भिडियो रिपोर्टसहित)

३ पुस २०७९ कैलाली । सरकारले एक महिनाअघि नै धानको मूल्य तोके पनि खरिद नहुँदा किसान चिन्तित छन् ।

मल, बीउ, श्रमअनुसारको मूल्य नपाएको गुनासो गर्ने किसानलाई मूल्य तोकेर पनि समयमै धान बेच्न नपाउँदा चिन्ता थपिएको छ । धान रोप्नुअघि नै मूल्य तोकेको सरकारले धान बेच्न ठिक्क पार्दा पनि खरिद नगरिएकोमा किसान रुष्ट छन् ।

कैलालीको जोशिपुर गाउँपालिकामा धान खरिद भइरहेको सरकारी डिपोमा पुग्दा किसानको धान बेच्ने लामै लाइन थियो । सरकारले धानको निर्धारण गरेर खरिद गर्न थालेपछि किसान धान लिएर लाईनमा थिए । उसो त करिव ९० प्रतिशत किसानले धान पहिले नै व्यापारी लाई सस्तोमा बेचेका छन् ।

किसानले मल बिउको जोहो गर्न पहिले नै व्यापरी लाई क्विन्टलको २२ देखि २४ सयमा बेचेका छन् । धान बेच्न आएका कृषक राम कुमार कठरियाका अनुसार धेरै किसानले व्यापारीलाई धान बेचिसकेका छन् ।

सरकारलाई बेच्न तयार भएका किसान पनि धान विक्री नहुँदा राज्यले धोका दिएको महसुस गरिरहेका छन् । किसानको धान नकिनेर व्यापारीसँग त्यही किसानले सस्तोमा बेचेको धान किन्ने योजनामा सरकार लागेको कतिपय किसानको आरोप छ ।

धान बिक्री गर्ने ठाउँमा बिचौलिया र व्यापारीको मनपरी छ । उनीहरुले भनेकै भाउमा बिक्री गर्नुपर्ने बाध्यता किसानलाई छ । तर पनि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न चासो दिएको छैन ।

किसानलाई उचित मूल्य उपलब्ध गराउन भन्दै सरकारले हरेक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्दै आएको छ । तर, सरकारको लापरबाहीका कारण किसानको नाममा बिचौलिया र व्यापारीले रजाइँ गर्दै आएका छन् । त्यसैले किसान अहिले पनि धानको मूल्य बढाउनुपर्ने माग राख्दै आएका छन् ।

अहिले सरकारले एक जना किसानबाट ३० क्विन्टल धान खरिद गर्दै आएकोे छ । ३० क्विन्टल भन्दा बढी भएमा वडा कार्यालयबाट किसान भएको प्रमाणित गर्नु पर्छ । तर, केही व्यापारीले वडामा गएर नक्कली किसानको सिफारिस बनाएर धान बेच्ने गरेका छन् ।

सरकारले यस वर्ष धानको मूल्य प्रतिक्विन्टल २ हजार ९ सय रुपैयाँ तोकेको छ । तर बजारमा २ हजार ४ रुपैयाँमै खरिद बिक्री भइरहेको छ । धान रोप्ने बेला ठूला व्यापारी तथा बिचौलियासाग धान दिने सर्तमा ऋण लिएका मध्ये कयौं किसान सरकारी भाउभन्दा सस्तोमा बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *