आर्थिक

निर्वाचनमा किन उत्साहित छैन निजी क्षेत्र ? (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक २८ गते २१:२८
निर्वाचनमा किन उत्साहित छैन निजी क्षेत्र ? (भिडियो रिपोर्टसहित)

२८ कात्तिक २०७९ काठमाडौं । यतिबेला मुलुकमा निर्वाचनको माहोल छ । मुलुकको अर्थतन्त्र गम्भीर मोडमा रहेका बेला हुन लागेको यो निर्वाचनबाट निजी क्षेत्र भने खासै उत्साही छैन् ।

निर्वाचनपछि स्थिर सरकार निर्माण हुने र त्यसले अहिलेको आर्थिक संकट हल गर्दै आर्थिक विकास, रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्ला भन्नेमा विश्वस्त छैनन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका दलले मुलुकको विकास र समृद्धिलाई प्राथमिकतामा राखेका छन् । मुलुकमा औद्योगिक वातावरण, रोजगारी सृजना र वैदेशीक लगानी प्रवर्द्धनमा उनीहरुको विशेष जोड छ। आर्थिक संकटबाट मुलुक गुज्रिरहेको अवस्थामा हुदै गरेको यो निर्वाचनबाट उद्योगी, व्यवसायी भने खासै उत्साही छैनन् ।

अहिले अर्थतन्त्रमा सबैभन्दा ठूलो समस्या मागमा आएको संकुचनले ल्याएको छ । सिमेन्ट, अटोमोबाइल, लत्ताकपडा हरेक जसो क्षेत्रमा यो समस्या देखिएको छ । व्यवसायीका अनुसार स्टिल र अटोमोबाइलको व्यापार र माग अहिले ७० प्रतिशतले खस्किएको छ ।

सिमेन्टको ५० प्रतिशत र दैनिक उपभोग्य खाद्यन्न तथा पेयपदार्थको माग पनि २० प्रतिशतले संकुचन आएको छ। महँगीले निर्माण व्यवसाय पनि प्रभावित भएको छ । निर्यात व्यापार पनि ४० प्रतिशतसम्मले संकुचन आएको छ । यही बेला बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि १७ प्रतिशत पुगेको छ । अब नयाँ सरकार आएर यो समस्याको समाधानलाई पहिलो प्राथमिकतामा राख्नेमा व्यवसायी विश्वस्त छैनन् ।

आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई विश्वासमा लिनु अत्यावश्यक छ । अहिलेको आर्थिक संकटको हल, पर्यटन तथा सेवा क्षेत्रको विकास, आन्तरिक तथा बाह्य लगानी वृद्धि गर्ने सरकारको प्रतिक्षामा व्यवसायी छन् ।

विकासको बाटोमा मुलुकलाई लैजानका सरकारसँग निजी क्षेत्र सहकार्य गर्न उत्सुक देखिन्छ । अर्थतन्त्रलाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन आर्थिक एजेन्डालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *