आर्थिक

राजस्व संकलनको लक्ष्यः यो वर्ष पनि प्रभावित हुने (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ६ गते २१:४०
राजस्व संकलनको लक्ष्यः यो वर्ष पनि प्रभावित हुने (भिडियो रिपोर्टसहित)

६ कात्तिक २०७९ काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकार लक्ष्य अनुसार राजस्व संकलनमा असफल भयो ।

गत वर्षको तुलनामा राजस्व संकलनको लक्ष्य बढाएको सरकारले तीन महिनामा कोरोना महामारीको समयमाभन्दा कम उठायो । आयात प्रतिबन्ध र राजस्वका दरमा गरिएको परिमार्जनले राजस्व संकलनको यो वर्षको लक्ष्य पनि प्रभावित हुने देखिन्छ ।

सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । तर हालसम्म १५ दशमलव ३३ प्रतिशत अर्थात २ खर्ब १५ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ । जबकी गत वर्षको पहिलो त्रैमासमा कुल लक्ष्यको २१ प्रतिशत राजस्व संकलन भएको थियो ।

चालू आर्थिक वर्षमा सरकारले गत आर्थिक वर्षको तुलनामा ४ खर्ब बढी रास्व संकलनको लक्ष्य लिएको छ । विदेशी मुद्राको सञ्चितीमा चाप पर्न थालेपछि सरकारले चालू आर्थिक वर्षको सुरुदेखि नै आयातमा कडाई गरेको छ ।

निजी गाडी, ३ सय डलरमाथिको मोबाइल फोन, १५० सीसीमाथिका मोटरसाइकल र मदिरा आयात मंसिर मसान्तसम्मलाई कायमै राखिएको छ । त्यसकारणले गर्दा यो वर्ष राजस्व संकलनको लक्ष्य प्रभावित हुने देखिन्छ ।

आयात प्रतिबन्ध, राजस्वका दरमा हेरफेर र अवैध बस्तु आयातले राजस्व संकलननमा पहिलो त्रैमासमै धक्का लागेको हो । भन्सार विभागले मात्रै तीन महिनामा १ खर्ब ४७ अर्बको राज्य राखेकोम ९७ अर्ब रुपैयाँ मात्रै उठेको छ ।

आन्तरिक राजस्व विभागले पनि लक्ष्य अनुसार संकलन गर्न सकेको छैन् । यसले गर्दा यो वर्ष लक्ष्य अनुसार राजस्व संकलन नहुने हो की भन्नेमा सरकारी अधिकारीहरु नै चिन्तित छन् ।

गत वर्षको भन्दा करिब ४ खर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलनको लक्ष्य राखेपनि पहिलो तीन महिनामा लक्ष्य अनुसार राजस्व उठेपछि अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार राजस्व सचिव, भन्सार विभाग र आन्तरिक राजस्व विभागका प्रमुखसँग छलफल नै गर्नुभयो ।

सबै इमान्दर बनेर काम गरे लक्ष्य प्राप्ति असम्भव नरहेको भन्दै उहाँले इमान्दर बन्न निर्देशन नै दिनुभयो । कोरोना महामारीको बेला पनि ४ देखि ९ प्रतिशतसम्म राजस्व संकलनमा गिरावट आएको थियो । तर यो पटक त १८ प्रतिशतभन्दा बढी गिरावट आएको छ । लक्ष्य अनुसार राजस्व उठाउन नसक्ने हो भने सरकारले खर्च नै घटाउनुपर्ने अवस्था आउन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *