आर्थिक

सरकार फेरि व्यवसायीको चंगुलमा, केही विलासी बस्तुको आयात खुलाउने निर्णयको विरोध (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १५ गते २१:३८
सरकार फेरि व्यवसायीको चंगुलमा, केही विलासी बस्तुको आयात खुलाउने निर्णयको विरोध (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७९ काठमाडौं । मुलुकमा विदेशी मुद्राको सञ्चिती घट्दै गएर अर्थतन्त्रमा संकट आउन थालेपछि सरकारले विलासी भनिएका विभिन्न १० वस्तुको आयातमा गत वैशाखदेखि बन्देज लगाएको थियो । तर त्यसमध्ये ६ वस्तुको आयात खुला गरेको छ भने ४ वस्तुमा बन्देज कायमै राखेको छ ।

चाडपर्वको मुखमा हिरा, तास, चुरोट तथा सूर्तीजन्य वस्तुको आयात खुलाउने निर्णय गर्नुलाई सरकार व्यवसायीहरुको स्वार्थको फसेको आरोप लागेको छ।

सरकारले राजपत्रमा सूचना प्रकाशन गरी गत वैशाख १३ गतेदेखि मदिरा, तास, मोवाइल, टीभी, कार, मोटरसाइकल, कुरकुरे, लेज र सूर्तीजन्य वस्तु लगायत १० वस्तुको आयातमा बन्देज लगायो ।

विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेका बेला अबौं रुपैयाँ बराबरका विलासिताका सामान आयात हुन थालेपछि अर्थतन्त्रलाई उकास्न भन्दै यस्तो निर्णय गरिएको थियो । तर केही दिनअघि सरकारले १० समूहका केही वस्तुको आयात खुला गरेको छ ।

चुरोट तथा सूर्तीजन्य बस्तु, तास, खेलौना, कुरकुरे, लेज, रंगीन टिभी र हिराको आयात खुला गरिएको छ भने जीप, कार भ्यान, १५० सिसिमाथिका मोटरसाइकल र मदिराको आयातमा असोज २८ गते सम्मका लागि बन्देज कायमै राखिएको छ । सरकारको यो निर्णयको व्यवसायीहरुले बिरोध गरेका छन् ।

यी वस्तुको आयातमा लगाइएको बन्देजले विदेशी मुद्राको सञ्चितीमा सुधार हुँदै गएकाले राष्ट्र बैंकले सरकारलाई बन्देज कायमै राख्न सुझाव दिएको थियो । तर सरकारले त्यसलाई नजअन्दाज गर्दै विलासी भनिएका केही वस्तु खुलाउने र केही बन्द गर्नुले सरकारको नियतमाथि प्रश्न उब्जिएको छ। योसँगै आयातमा गरिएको बन्देज पूर्ण रपमा कार्यान्वयन नभएकाले अझै पनि यसलाई लम्ब्याई राख्नुको कुनै अर्थ नरहेको व्यवसायी बताउँछन् ।

बन्देज गरिएका मध्ये अधिकांश बस्तुको आयात खुलाउन विशाल र शारदा ग्रुपले सरकारलाई दबाव दिँदै आएका थिए । पछिल्लो समय विदेशी मुद्रामा केही सुधार देखिए पनि सन्तोषजनक अवस्थामा आइसकेको छैन । यो अवस्थामा सरकारले आफ्नो स्वार्थ अनुकुल निर्णय गर्नुले अर्थतन्त्र थप संकटमा धकेलिने चिन्ता व्यक्त गरिएको छ ।

अर्थतन्त्रमा संकट आएको बेला हिरा, कुरकुरे, तास र सूर्तीजन्य बस्तु तत्काललाई अत्यावश्क छैन् । यतिसम्म कि जुवा ऐन २०२२ ले जुवातास आयातमा निरुत्साहित गरेको छ । यो अवस्थामा तासको आयात खुलाउनु कानुनविपरित समेत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *