आर्थिक

राष्ट्र बैंककाे नयाँ नियम – चलू पुँजी कर्जामा ४० प्रतिशतकाे क्याप, व्यवसायीद्वारा विरोध

२०७९ भदौ १२ गते २०:५४
राष्ट्र बैंककाे नयाँ नियम – चलू पुँजी कर्जामा ४० प्रतिशतकाे क्याप, व्यवसायीद्वारा विरोध

१२ भदौ २०७९ काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगी, व्यवसायीहरुले पाउने चालू पूँजी कर्जामा ४० प्रतिशतको क्याप लगाइएको छ। यस्तो कर्जाको सुविधा कम्पनीहरुको कारोबारका आधारमा बैंक तथा वित्तीय संस्था र उद्योगी, व्यवसायीबीचको आपसी विश्लेषणबाट पाउनुपर्ने माग उनीहरुको छ ।

कर्जा दुरुपयोग रोक्न राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको भए पनि त्यसले आर्थिक गतिविधि रोक्ने र पूँजी पलायन हुने भन्दै व्यवसायीहरुले तत्काल संशोधन गर्न माग गरेका छन् ।

नेपाल राष्ट्र बैंकले केही दिनअघि चालू पुँजी कर्जासम्बन्धि मार्गदर्शन, २०७९ जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई कम्पनीको बार्षिक कारोबारको ४० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था गर्‍यो ।

मार्गदर्शन अनुसार अब कुनै पनि उद्यमी–व्यवसायीले आफ्नो व्यवसायको अपरेटिङ साइकल, क्यास कनभर्जन साइकल, दैनिक वस्तु बिक्री लगायतका विषयहरु हेरेर बार्षिक कारोबारको ४० प्रतिशतसम्म मात्र चालू कर्जा लिन पाउने छन् ।

राष्ट्र बैंकको यो नीतिको उद्योगी, व्यवसायीहरुले विरोध जनाएका छन् । चालू कर्जाको सीमा निर्धारण बैंक तथा वित्तीय संस्था र उद्यमी, व्यवसायीहरुको बीचको आपसी विश्लेषणबाट गर्नुपर्ने उनीहरुको माग छ ।

राष्ट्र बैंकको यो नीतिले कर्जाको माग घटाउने, आर्थिक गतिविधिलाई रोक्ने र रोजगारीमा धक्का पुग्ने निजी क्षेत्रको निश्कर्ष छ । यसलाई तत्काल सच्याउनुपर्ने अन्यथा मुलुकका उद्योगधन्दा बन्द हुने र पूँजी पलायनको समेत जोखिम रहेको चेतावनी व्यवसायीहरुको छ ।

यसै पनि व्यवसायीहरुले मौद्रिक नीति मार्फत नै राष्ट्र बैंकले आयात निरुत्साहन, ऋणको अनुगमनमा कडाई, घरजग्गामा कडाई र कर्जाको ब्याजदर वृद्धि गर्ने नीतिको बिरोध गर्दै आएका थिए । तर राष्ट्र बैंक भने आफ्ना नीतिले आर्थिक गतिविधि संकुचन हुने र आर्थिक वृद्धिको लक्ष्य नै प्रभावित हुने कुरा सत्य नभएको दाबी गर्छ ।

चालू कर्जामा सीमा निर्धारण गर्नुको एउटै उद्धेश्य यसको दुरुपयोग रोक्नु देखिन्छ । तर त्यसको दुरुपयोग रोक्न अनुगमन गर्नुको साटो अर्थतन्त्र नै नियन्त्रणको प्रयास गरेको आरोप लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *