आर्थिक

चिनियाँ नाका अचानक बन्द हुँदा थुनियो दशैँ र हिउँदको सामान (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ६ गते ७:२१
चिनियाँ नाका अचानक बन्द हुँदा थुनियो दशैँ र हिउँदको सामान (भिडियो रिपोर्टसहित)

६ भदौ २०७९ काठमाडौं । चीनले रसुवागढी र तातोपानी नाका फेरि बन्द गरेको छ । बिनाजानकारी अचानक नाकाबन्द गर्दा दशैंका लागि चीनबाट सामान लिएर नेपाल आउँदै गरेका १५० भन्दा बढी कन्टेनर तिब्बती क्षेत्रमा रोकिएका छन् ।

चीनले विगत ३० महिनादेखि नेपालबाट हुने निर्यात ठप्प बनाएर आयातमा पनि कोटा प्रणाली लागू गर्दै आएको छ। तर यो समस्या हल गर्न नेपाल सरकारले कुनै चासो देखाएको पाइँदैन ।

नेपालको उत्तरी छिमेकी चीनसँगका प्रमुख दुई व्यापारिक नाका रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानीबाट साउन २५ गतेदेखि आयात ठप्प छ । यी नाकाबाट नेपालतर्फ हुने निर्यात किन रोकिएको हो र कहिलेदेखि संचालनमा आउछ भन्नेबारे चीनले नेपाली पक्षलाई जानकारी दिएको छैन । कोरोना संक्रमण बढेकाले बन्द गरिएको अनौपचारिक जानकारी रहेको भन्सार अधिकारीले बताएका छन् ।

उसो त चीनले दुबै नाकामार्फत् नेपालबाट हुने वस्तु निर्यातमा रोक लगाएको ३० महिना भैसकेको छ। आयातमा पनि कोटा प्रणाली लागू गरेको छ । ३० महिनाअघि दैनिक १५० कन्टेनर नेपाल आउने गरेको थियो । कोरोना महामारी केही कम भएसँगै नाका संचालनमा आएपछि त्यो संख्यालाई घटाएर दैनिक ७ वटामा सिमित गरेको छ ।

अहिले अचानक नाकाबन्द गरिँदा दशैँ र जाडोका लागि नेपाली व्यवसायीहरुले ल्याउन लागेका लत्ताकपडा, फलफूल र मेसिनरी सामान बोकेका १५० भन्दा बढी कन्टेनर तिब्बती क्षेत्रमै रोकिएका छन् । ती कन्टेनरमा तिज र दशैंका लागि मात्र भनेर व्यवसायीहरुले एक अर्ब रुपैयाँभन्दा बढीका सामान आयात गरेको जनाएका छन् ।

३० महिनादेखिको जारी अवरोध नहट्दा नेपाली व्यवसायीका चौध सय कन्टेनर थन्किएका छन् भने २८ सय मजदूर बेरोजगार भएका छन् । तर नाकामा देखिएको यो समस्याबारे उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालय बेखबर छन् ।

झण्डै तीन वर्षदेखि यी नाकाबाट सहज आयात–निर्यात हुन नसक्दा पनि सरकारले यसतर्फ चासो दिएको छैन। केही साताअघि परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणका बेला केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने सम्झौता भयो तर नाकामा जारी अवरोध हटाउनेबारे नेपाली पक्षले कुनै चासो नै देखाएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *