आर्थिक

अव्यवस्थाले थलिँदै पर्यटन उद्योग (भिडियो रिपोर्टसहित)

२०७९ साउन २२ गते २०:५२
अव्यवस्थाले थलिँदै पर्यटन उद्योग (भिडियो रिपोर्टसहित)

२२ साउन २०७९ काठमाडौं । नेपालमा सबैभन्दा सुरक्षित उद्योगका रुपमा पर्यटन उद्योगलाई लिइन्छ । तर पछिल्ला वर्षहरुको तथ्याङ्क हेर्ने हो भने पर्यटन उद्योगबाट नेपालले अपेक्षित लाभ लिन सकेको छैन ।

उनीहरुले भनेजस्तै स–साना प्राविधिक कुराहरुकै अभावमा नेपालको पर्यटन उद्योगले दैनिक रुपमा ठूलो क्षति व्यहोर्छ । हरेक वर्षजस्तो कुनै न कुनै विषय बनाएर पर्यटकलाई आकर्षण गर्न खोजिए पनि व्यवस्थापन पक्ष कमजोर हुँदा नेपालमा आउने पर्यटक उनीहरुले सोचेको जसरी बस्न र खर्च गर्न नपाउने गरेको देखिन्छ ।

सरकारले आर्थिक वर्ष २०७९–८० मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । तर उचित व्यवस्थापन र बजारीकरणको अभावमा भने अपेक्षित रुपमा पर्यटक नआउने र आए पनि खर्च कम गर्ने बिडम्बना देखिन्छ । पहिलो कुरा त पर्यटकहरुले खर्च गर्न ठाउँहरुकै अभाव देखिने गरेको छ । दोस्रो कुरा सबेरै सुस्ताउने होटल र रात्रि जीवन पर्यटकका लागि असहज देखिन्छ ।

नेपालमा आउने पर्यटकहरुले औसतमा करिब २ हप्ता बस्ने र दिनको औसतमा ४८ डलर खर्च गर्ने गरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । पर्यटकलाई अड्याउन नसक्नु र खर्च गराउन नसक्नुमा अव्यवस्थित होटल तथा नयाँ गन्तव्यहरुको प्रचारको कमी नै देखिन्छ । यी कुराहरु व्यवस्थित गर्न सके पर्यटन व्यवसायबाट अपेक्षित लाभ लिन सकिने जानकारहरु बताउँछन् ।

देशको जीडीपीमा पर्यटन उद्योगको ३ दशमलव ६ प्रतिशत योगदान छ । देशको अर्थतन्त्रमा राम्रो योगदान दिने यो क्षेत्रलाई व्यवस्थित गर्ने जिम्मेवारी पाएको बोर्डले नयाँ कार्यक्रम खासै ल्याउन सकेको देखिँदैन । तर विस्तारै सुधारका कामहरु भने भइरहेको बोर्डको दाबी छ ।

सुरक्षित भनिएको उद्योगलाई व्यवस्थित गर्ने जिम्मा लिएको बोर्ड आफै अस्तव्यस्त छ । त्यसबाहेक पछिल्ला वर्षहरुमा एकपछि अर्को गर्दै देखिएका कोरोना महामारी लगायतका प्रकोपहरुका कारण पर्यटक भित्र्याउन झनै कठिन देखिन्छ ।

तर नेपाल सुरक्षित छ, उत्कृष्ट पर्यटकीय गन्तव्य हो र यहाँ पाहुनाको सत्कार राम्रोसँग हुन्छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन नसक्ने र पर्यटक पर्खिरहेका क्षेत्रसमेत व्यवस्थित बनाउन नसक्ने हो भने यो उद्योग थप असुरक्षित हुने खतरा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *