आर्थिक

मोरङमा फस्टाउँदै ‘ड्रागन फ्रुट’ खेती (भिडियो रिपोर्टसहित)

२०७९ साउन २० गते १६:१८
मोरङमा फस्टाउँदै ‘ड्रागन फ्रुट’ खेती (भिडियो रिपोर्टसहित)

२० साउन २०७९ मोरङ । थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि मोरङमा ड्रागन फ्रुट्सको खेती फस्ट्याएको छ । पोषिलो फलफूलभित्र पर्ने सिउँडी प्रजातिको फल किन्न ग्राहक किसानको बारीमै पुग्न थालेका छन् ।

मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर ११ का अनिल श्रेष्ठ गैरसरकारी संस्थाको जागिर छाडेर ड्रागन फ्रुट्स खेती गरिरहनु भएको छ । मोरङको सुन्दर हरैचा नगरपालिका वडा नम्बर ११ मा खेती गरिरहेका श्रेष्ठलाई सात वर्ष लामो जागिरे जीवन त्यागेको पछुतो छैन ।

३ वर्ष अघि २ कठ्ठा जमिनमा ड्रागन फ्रुट्स खेती शुरु गरेका श्रेष्ठले राम्रो आम्दानी भएपछि पाँच कठ्ठामा विस्तार गर्नु भएको छ ।

अनिल जस्तै, मोरङ उर्लाबारीका नारायणकुमार थापा पनि डेढ विघा जग्गा ठेक्कामा लिएर ड्रागन खेती गरिरहनु भएको छ । तरकारी खेती गर्ने सोच बनाएर जग्गा खोजिरहेका थापाले छोटो समयमै राम्रो आम्दानी हुने भएपछि ड्रागन फ्रुट्स खेती थाल्नुभएको हो ।

असारबाट उत्पादन दिन थाल्ने यो फल पुससम्म रहन्छ। पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममै भण्डारण गर्न सकिने किसान बताउँछन् । जिल्लामा २५ बिघा भन्दाबढी क्षेत्रफलमा ड्रागन फ्रुट्सको खेती हुँदै आएको छ । छोटो समयमा राम्रो आम्दानी लिन सकिने भए पनि सरकारी तवरबाट ड्रागन फ्रुट्स खेती गर्न किसानलाई प्रोत्साहन गरिएको छैन ।

रोपेको एक वर्षदेखि आम्दानी दिने ड्रागन फ्रुट्सको बोटबाट ३० वर्षसम्म आम्दानी लिन सकिन्छ । बारीमा नै ५ सय रुपैँया केजीमा विक्री हुने ड्रागन फ्रुट्सको बढ्दो बजार मागले पनि व्यावसायिक खेतीको सम्भावना बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *