Main News

बढ्दो पारिवारिक कलह, किन हुन्छ परिवार नै सखाप हुने घटना (भिडियो रिपोर्टसहित)

२०७९ साउन १७ गते २०:५९
बढ्दो पारिवारिक कलह, किन हुन्छ परिवार नै सखाप हुने घटना (भिडियो रिपोर्टसहित)

१७ साउन २०७९ काठमाडौं । भनिन्छ – श्रीमान–श्रीमतीको झगडा परालको आगो । यसको अर्थ परालको आगो जस्तै श्रीमान–श्रीमातीको झगडा एकैछिनमा साम्य हुन्छ भन्ने हो । तर, हिजो–आज परिस्थिति फरक हुँदै गएको छ, श्रीमान–श्रीमतीको झगडा त भुसको आगो जस्तो बन्न थालेको छ । र, त्यसले हत्यादेखि आत्म हत्यासम्मको परिणाम देखाउन थालेको छ ।

घरमा कलह भयो भने समाज नै अशान्त हुन्छ । हिजो–आज श्रीमान–श्रीमती जस्तो पवित्र सम्बन्धमा विग्रह बढेको छ जसका कारण हत्या, आत्महत्या जस्ता घटना बढ्न थालेका छन् । घरपरिवारकै सदस्यबाट डराउनुपर्ने अवस्था आएको छ । सोमबार काठमाडौंको तारकेश्वर नगरपालिका वडानम्बर २ काभ्रेस्थली पदमसालामा दिनेश पाण्डेले छोरा–छोरी र श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरे ।

यो घटना भएको झण्डै हप्ता दिनअघि मात्रै चितवनमा पनि एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका थिए । वैदेशिक रोजगारीबाट फर्किएका कृष्णप्रसाद आचार्यले आफ्नी पत्नी रुश्मा आचार्यको घाँटी रेटेर हत्या गरी आफूले तीन तलाबाट हाम फालेर आत्महत्या गरे । घटनाको प्रकृति फरक भएपनि दुवै घटनाको कारण भने मिल्दोजुल्दो देखिन्छ ।

दुवै घटनाको पछि वैदेशिक रोजगारी, विवाहइत्तर सम्बन्ध र आर्थिक कारण रहेको प्रहरीको भनाइ छ । झण्डै एक वर्ष अघि मात्रै संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । बुद्धमान कार्कीका छोरासहित ६ जना सदस्यको हत्यामा नाताले भतिजो पर्ने छिमेकीकै संलग्नता थियो । यी केही प्रतिनिधि घटना हुन् जस्ले परिवार र समाज नै असुरक्षित बन्दै गएको पुष्टि गर्दछ ।

शंका उपशंका र सामान्य विवादकै कारण हत्याजस्तो जघन्य अपराध गर्न पनि मान्छे पछि नपर्नुमा, समाजमा बढ्दै गएको विकृति–विसंगति, अविश्वास नै मुख्य कारण मानिएको छ । नैतिक शिक्षाको कमी, सामाजिक सञ्जालको दुरुपयोग, श्रीमान्–श्रीमतीको सम्बन्धमा तेस्रो व्यक्तिको प्रवेश वा विवाहइतर सम्बन्ध, लेनदेन, वैदेशिक रोजगारी लगायतका कारण परिवार र समाजमा अपराधका घटना बढ्दै गएका छन् ।

अदालतमा दिनहुँ बढिरहेको सम्बन्ध विच्छेदका मुद्दाको चाङका खबरले पनि परिवारमा विखण्डन बढ्दै गएको देखाउछ । वैदेशिक रोजगारीबाट फर्किंदा श्रीमती र सम्पत्ति दुवै गुमाउनुपर्ने युवाहरुको कथाले पनि पछिल्लो समय बढेका सामाजिक समस्याको चित्रण गर्छ ।

श्रीमान् र श्रीमतीले एक अर्कालाई शंका गर्ने र त्यसबाट उत्पन्न विवाद उत्कर्षमा पुगेर काठमाडौंमा सोमबार ४ जनाको ज्यान जाने गरी हत्या र आत्महत्या जस्तो जघन्य अपराध भयो । यो घटना अघि विवाद प्रहरीमा समेत पुगेको थियो तर प्रहरीले श्रीमान्–श्रीमतीको विवाद त हो नि भनेर सम्झाइबुझाई गरेर पठायो तर मानसिक परामर्शको खाँचो परेको व्यक्तिलाई सामान्य सम्झाएर मात्र पठाउनु कमजोरी हुने मनोपरार्शदाताको भनाइ छ ।

काठमाडौं र चितवनमा भएका घट्ना हालै बाहिर आएका घटनाहरु हुन् , यस्ता घटनाहरु भित्र–भित्रै बढिरहेका छन् । आफ्नो परिवारमा विश्वासको संकट छ भने आपसी संवाद, परामर्श गरेर सुल्झाउनुपर्ने नभए मनोवैज्ञानिक र कानूनी उपचारमा जानुपर्ने विज्ञहरुको सुझाव छ ।

अहिले सामाजिक सञ्जालको प्रयोग व्यक्तिले चाहिने कामका लागि भन्दा नचाहिने कामका लागि प्रयोग गर्ने गरेको देखिन्छ । सामाजिक सञ्जालमा आउने राम्रो कुरालाई भन्दा नराम्रो कुराको नक्कल गर्न खोज्ने प्रवृतिकै कारण समाजमा विकृति विंगतिहरु फस्टाउने वातावरण बनेको छ । त्यसैले यस्ता कुरा न्युनीकरण गर्न समाजले नै अग्रसरता लिनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *