आर्थिक

इलाम : भएको शीत भण्डार चल्दैन, तरकारीमा बाहिरकै भर

२०७९ साउन १६ गते २०:५७
इलाम : भएको शीत भण्डार चल्दैन, तरकारीमा बाहिरकै भर

१६ साउन २०७९ इलाम । इलाम कृषि उत्पादनका लागि उर्वर मानिन्छ । यहाँ तरकारी तथा फलफूल उत्पादन प्रशस्त हुन्छ । उत्पादित वस्तु भण्डारण गर्ने हो भने इलामबासी कसैको भर पर्नुपर्दैन । तर भएको शीत भण्डारण केन्द्र प्रयोगविहीन हुँदा इलामबासी परनिर्भर हुनुपरेको छ ।

तरकारी तथा फलफूल भण्डारणका लागि इलाम नगरपालिका–९ सेरामा २०६८ सालमा शीत भण्डार केन्द्र निर्माण भयो । इलाम नगरपालिका र भारतीय दूतावासको सहयोगमा निर्मित शीतभण्डार ११ वर्षसम्म पनि सञ्चालनमा नआउँदा किसान उत्पादित नगदे बाली विराटनगर लगेर भण्डारण गर्न बाध्य छन् ।

२ हजार टन क्षमताको शीतभण्डार निर्माणका लागि भारत सरकारको ४ करोड ३९ लाख, नेपाल सरकारको ६७ लाख ५८ हजार र इलाम नगरपालिकाको ४३ लाख ५ हजार रुपैयाँ लगानी भएको थियो । करोडौं लगानीको शीतभण्डार केन्द्र सञ्चालनमा नआउँदा उत्पादित तरकारी र फलफूल कुहिएर जाने गरेको छ ।

इलाममा किवीसहित विभिन्न किसिमको फलफूल र तरकारी उत्पादन हुन्छ । उत्पादित तरकारी र फलफूल भण्डारण गर्न सके, इलामबासीले बाहिरको किनेर खानुपर्दैन । तर अहिले भारत र तराईबाट आएको फलफूल र तरकारी किनेर खानुको विकल्प छैन । हुनत, इलाम नगरपालिकाले शीतभण्डार केन्द्र सञ्चालनका लागि पटक पटक ठेक्का आव्हान पनि गर्‍यो । बीचमा एक कम्पनीले ठेक्का लिएर राम्रोसँग चलाउन नसकेपछि अहिले शीतभण्डार केन्द्रका उपकरणमै खिया लाग्न थालेको छ ।

एकातिर करोडौंको लगानीमा बनाइएको शीतभण्डारण केन्द्र अलपत्र छ, अर्कोतिर नागरिक आयातित फलफूल र तरकारी उपभोग गर्न बाध्य छन् । यसतर्फ सरोकारवालाले बेलैमा ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *