आर्थिक

के हो लगानीकर्ता क्षतिपूर्ति कोष? के छन् यसका फाइदा… (भिडियो रिपोर्टसहित)

२०७९ साउन १५ गते २०:५८
के हो लगानीकर्ता क्षतिपूर्ति कोष? के छन् यसका फाइदा… (भिडियो रिपोर्टसहित)

१५ साउन २०७९ काठमाडौं । शेयर लगानीकर्तालाई सम्भावित क्षतिबाट जोगाउन धितोपत्र बोर्डले कोष सञ्चालनमा ल्याउने भएको छ। चालू आर्थिक वर्षभित्र उक्त कोष सञ्चालनमा ल्याउने बोर्डको योजना छ । बोर्डको निर्णयलाई लगानीकर्ताहरुले स्वागत गरेका छन् । यसले लगानी सुरक्षासँगै सचेतनासमेत अभिवृद्धि गर्ने छ। तर यसको कार्यान्वयनमा भने आशंका छ ।

शेयर बजार घट्दा लगानीकर्तालाई हुन सक्ने जोखिम कम गर्न तथा आगामी दिनमा लगानीमैत्री वातावरण बनाउन नेपाल धितोपत्र बोर्डले क्षतिपूर्ति कोष स्थापना गर्ने भएको छ। बोर्डले आर्थिक वर्ष २ ०७९–८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो योजना अघि सारेको हो । यसलाई लगानीकर्ताहरुले सकारात्मक भन्दै त्यसको कार्यान्वयनमा जोड दिएका छन् ।

चालू आर्थिक वर्षभित्रै कोषसम्बन्धी नियमावली तर्जुमा गरी कार्यान्वयनमा ल्याउने जनाइएको छ । कोष स्थापना भएपछि लगानीकर्ताले लगानी गुमाउँदै गर्दा कोषले सहयोग गर्नेछ । यस्तो कोषले लगानीकर्तालाई लगानीप्रति आत्मवश्विास जगाउन पनि सहयोग गर्ने छ ।

कोष कार्यान्वयनमा ल्याउन सके लगानीकर्ताका लागि ठूलो उपलब्धी हुने विश्वास छ । योसँगै बोर्डले साना तथा मझौला कम्पनीको शेयर कारोबारका लागि छुट्टै प्लेटफर्म सञ्चालनमा ल्याउने घोषणा पनि गरेको छ। विगतमा लगानीकर्ताहरुको हितमा विभिन्न कार्यक्रम आएपनि कार्यान्वयन नभएको अवस्थामा यी कुराहरु कार्यान्वयन हुनेमा लगानीकर्ताको आशंका छ ।

पछिल्लो समय शेयर बजारमा आमनागरिकको चासो निकै बढेको छ । बजारमा लगानी गर्नका लागि अहिलेसम्म ५३ लाखभन्दा बढीले डिम्याट खाता खोलिसकेका छन् । पूँजीबजारलाई सामान्यतः अर्थतन्त्रको अवस्था नाप्ने ‘ब्यारोमिटर’ मानिन्छ । यसलाई देशको अर्थतन्त्रको ऐनाका रूपमा हेरिन्छ । शेयर बजारमा बढ्दो आकर्षणले पूँजी बजारलाई नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने चुनौती नियमक निकायसामू आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *