आर्थिक

ऋण नपाउँदा पुष्प व्यवसाय गर्न कठिन

२०७९ साउन १४ गते १५:१९
ऋण नपाउँदा पुष्प व्यवसाय गर्न कठिन

१४ साउन २०७९ काठमाडौं । बैंकबाट सहजरुपमा ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय विस्तार गर्न समस्या भएको छ । लामो समय कोरोना महामारीको सामना गरी विस्तारै लय लिन लागेको उक्त व्यवसाय विस्तारका लागि वातावरण नबन्दा व्यवसायी मारमा परेका छन् ।

लामो समयदेखि कलङ्कीमा नर्सरी सञ्चालन गर्दै आउनुभएका श्याम उप्रेतीले व्यवसाय जेनतेन धाने पनि आर्थिक समस्याका कारण विस्तार गर्न नसकेको बताउनुभयो । कोरोना महामारी अघि सहजरुपमा ऋण उपलब्ध हुने गरेको भए पनि अहिले विभिन्न बहानामा नपाउँदा लगानी बढाउन नसकेको उहाँले दुःखेसो पोख्नुभयो ।

सामान्यतया नर्सरी सञ्चालनका लागि रु ५० लाखदेखि रु एक करोडसम्म लगानी गर्नुपर्ने व्यवसायी बताउँछन् । लगानी बढाउन नपाएकै कारण पछिल्लो समय फूलको उत्पादनमा कमी आएको छ । कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो ।

पुष्प व्यवसायीका अनुसार फूलको व्यापार भने आशाअनुरुप हुन सकेको छैन । कोरोना महामारीको समयमा भन्दा अहिले केही गतिविधि बढे पनि विगतको झैँ लय लिन अझै नसकेको फ्लोरीकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । व्यवसाय विस्तार गर्न नसक्दा कारोबार कम भएको छ । गत आर्थिक वर्षमा रु तीन अर्बको कारोबार गर्ने लक्ष्य लिएको यस व्यवसायमा रु दुई अर्ब बराबर मात्र कारोबार भएको अनुमान गरिएको छ ।

हाल खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छन् भने अझै पनि नौ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको छ ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको समय भएकाले फूल बढी प्रयोग हुने गर्दछ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल करिब पाँच सय प्रजातिको फूल रहेको भए पनि व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूलको मात्र उत्पादन र बिक्रीवितरण हुँदै आएको छ । नेपालमा झण्डै १५७ हेक्टरमा एक हजार व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *