आर्थिक

देउवाले बिफ्रिङका लागि समय नदिँदा मौद्रिक नीति अनिश्चित (भिडियो रिपोर्टसहित)

२०७९ साउन ४ गते २१:३०
देउवाले बिफ्रिङका लागि समय नदिँदा मौद्रिक नीति अनिश्चित (भिडियो रिपोर्टसहित)

४ साउन २०७९ काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिमाथिको छलफल गत साता नै सकिएको छ । समष्टिगत आर्थिक स्थायित्वलाई जोड दिँदै तर्जुमा गरिएको मौद्रिक नीतिबारे अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिफ्रिङका लागि समय नदिँदा अनिश्चित बनेको हो । नयाँ आर्थिक वर्ष शुरू भइसकेकाले राष्ट्र बैंक भने यसै साता सार्वजनिक गर्ने तयारीमा छ ।

नेपाल राष्ट्र बैंकले असार अन्तिम साता वा ढिलोमा साउन २ गतेसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अघि बढाएको थियो । राष्ट्र बैंक व्यवस्थापनले सोही अनुसार मौद्रिक नीतिलाई अन्तिम रुप दिइसकेको छ । तर मौद्रिक नीतिको अन्तिम स्वरुपबारे अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गर्न बाँकी छ । प्रधानमन्त्रीलाई ब्रिफिक गरेर यही साता मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ ।

गएको दुई आर्थिक वर्ष राष्ट्र बैंकले तुलनात्मक रुपमा खुकुलो नीति ल्याएकाले चालू आर्थिक वर्षमा भने केही कसिलो मौद्रिक नीति ल्याउने जनाउ दिइसकेको छ। तर सरकारले बजेट पपुलिष्ट खालको ल्याएकाले बजेट र मौद्रिक नीतिबीचको तालमेल चुनौतीपूर्ण नै छ ।

८ प्रतिशतको आर्थिक वृद्धि गर्न सघाउने र मूल्यवृद्धि ७ प्रतिशतभित्रै राख्ने गरी नीति आउने देखिँदैन । यो अवस्थामा अहिले त झन गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थ तथा योजना विभागको सदस्यमा राखेको भनी आलोचना भइरहेका बेला कसिलो मौद्रिक नीति ल्याउँदा सरकारलाई असहयोग गरेको आरोप लाग्ने सम्भावना उत्तिकै छ ।

अहिले मुलुकको समष्टिगत आर्थिक स्थायित्वका परिसूचकहरु दबाबमा छन् । विदेशी विनिमय सञ्चिति पछिल्लो ६ वर्षयताकै न्यून अवस्थामा आइपुगेको छ । चालू खाता, व्यापार घाटा र मुद्रास्फीतिको ग्राफ बढ्दै गएको छ । यसैको वरिपरी रहेर मौद्रिक नीति तर्जुमा गरिएको जनाइएको छ ।

योसँगै मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने स्थायी तरलता सुविधामा कडाई गर्ने, पोलिसी दर बढाउने, राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात पनि बढाउने, ब्याजदर वृद्धि गर्ने योजना छ । यसले गर्दा यो वर्षको नीति उद्योगी, व्यवसायी, बैंकरहरुले चाहेजस्तो खुकुलो नआउने पक्कापक्की जस्तै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *