Main News

सत्ता गठबन्धनमा आफैं फुट आउने एमाले अध्यक्ष ओलीको दाबी

हिमालय टिभी
२०७९ साउन ४ गते १७:०६
सत्ता गठबन्धनमा आफैं फुट आउने एमाले अध्यक्ष ओलीको दाबी

४ साउन २०७९ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आफैं फुट आउने दाबी गर्नु भएको छ ।

अध्यक्ष ओलीले कतिपयले सत्तारुढ गठबन्धन फोडौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैं फुटेर जाने बताउनु भएको हो । आज काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले गठबन्धनमा आवद्ध दलहरु सबै स्वार्थी पूँँजीवादी बाटोमा हिँडेकाले उनीहरु कहिल्यै एकतावद्ध हुन नसक्ने तर्कसमेत गर्नुभयो ।

सत्तारुढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै अध्यक्ष ओलीले उनीहरुको एकतालाई फोड्न चाँदीको तरबार बनाउन आवश्यक नरहेको पनि बताउनु भयो । देश बनाउने पार्टीको महान उद्देश्यमा सो गठबन्धन तगारो बनेकाले आगामी निर्वाचनपछि उनीहरुलाई मिल्काएर फाल्नुपर्ने अध्यक्ष ओलीको चेतावनीयुक्त भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘सबभन्दा अगाडी त एउटा प्रतिक्रियावादी मनसाय बोकेको, देशद्रोही मनसाय बोकेको भ्रष्ट गठबन्धन नामको अपवित्र एउटा चिज छ । त्यो अनेक हिसावले हामीलाई असफल बनाउने आउने, हाम्रा महान उद्देश्यतर्फ तगारो बनेर त्यो बीचमा आउनेछ । त्यसलाई हामीले मिल्काउनु पर्नेछ ।’

ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी ढिक्का भएर अघि बढनेसमेत बताउनुभयो । स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीका कार्यकर्ताहरु इमानमा नरहने अवस्था अब नआउने र आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी हुने उहाँले बताउनुभयो ।

ओलीले स्थानीय तह निर्वाचनमा जस्तो पार्टीमाथि नै घात नगर्न पनि पार्टीका कार्यकर्तालाई सचेत गराउनुभयो । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले एमालेले हा¥यो भनेर गरेको प्रचारको भ्रममा नपर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भयो ।

अर्काको रुखबाट झरेको पात अलिअलि डोकोमा जम्मा गरेकाहरुले स्थानीय तह निर्वाचनमा एमाले समाप्त भयो भन्न नमिल्ने अध्यक्ष ओलीको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हामी हाम्रा महान अभिभाराहरु पूरा गर्न हाम्रा अगाडीका गम्भिर चुनौतीहरुलाई पराजित गर्नका लागि नेकपा (एमाले) एक ढिक्का भएर उभिन्छ । एक ढिक्का भएर अगाडि जुध्दै तिनलाई पराजित गर्दै विजय हासिल गर्छ ।’

ओलीले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा हुन नदिने खतरा बढेर गएको आरोप लगाउनुभयो । आगामी मंसिरभित्र दुवै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएपनि त्यसलाई पर सार्ने खतरा सत्तारुढ दलहरुबाटै हुने उहाँको आशंका थियो ।

ओलीले संविधान अनुसार फागुनमा हुनुपर्ने स्थानीय तह निर्वाचनलाई पनि आफूहरुको प्रयासले मात्रै बैशाख अन्तिममा गराउन सम्भव भएको जिकीर समेत गर्नुभयो ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ धकेल्न खोजेको भन्दै आपत्तिसमेत जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *