आर्थिक

राष्ट्र बैंकका गभर्नर विवादमा, मौद्रिक नीतिको विश्वसनियतामाथि नै प्रश्न (भिडियो रिपोर्टसहित)

२०७९ असार ३१ गते २१:०५
राष्ट्र बैंकका गभर्नर विवादमा, मौद्रिक नीतिको विश्वसनियतामाथि नै प्रश्न (भिडियो रिपोर्टसहित)

३१ असार २०७९ काठमाडौं । अहिले मुलुकको अर्थतन्त्र संकटमा छ । यो बेला देशको आर्थिक र मौद्रिक नीति निर्माण एवम् कार्यान्वयन गर्ने प्रमुख दुई निकाय अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरमाथि नैतिक प्रश्न उब्जिएको छ ।

अर्थमन्त्री राजीनामा दिएर बाहिरिइसकेको अवस्था छ भने गभर्नर विवादले घेरिए पनि जिम्मेवारीमै हुनुहुन्छ । यो अवस्थामा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको विश्वसनियतामाथि नै प्रश्न उठ्न थालेका छन् ।

करको दर परिमार्जनको विषयलाई लिएर जनार्दन शर्मामाथि संसदीय छानबिन भइरहेको छ। मौद्रिक नीति निर्माणको अन्तिम तयारीमा रहेका बेला राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको एउटा विभागमा बसेको आशंकामा आलोचना भइरहेको छ ।

यद्यपि एमाले र स्वयंम गभर्नर अधिकारीले ‘एम अधिकारी आफू नभएको’ दाबी प्रस्तुत गर्नुभएको छ । तर समिति सदस्य एम अधिकारी को हुन् भन्ने एमालेले खुलाउन सकेको छैन ।

गभर्नर अधिकारी विवादमा परेकाले उहाँको नेतृत्वमा आउने मौद्रिक नीतिको विश्वसनियतामाथि विज्ञहरुले प्रश्न उठाएका छन् । तर राष्ट्र बैंकका पूर्वअधिकारीहरु मौद्रिक नीतिको कार्यदिशा तय भइसकेको र सोहीअनुसार मौद्रिक उपकरण र उपायहरू हेरफेर हुने भएकाले गभर्नर अधिकारीको नाममा भइरहेको बिवादले खासै प्रभाव नपर्ने बताउँछन् ।

अहिले मुलुकको अर्थतन्त्र संकटमा छ । यो अवस्थामा सन्तुलित भन्दा पनि कसिलो मौद्रिक नीति ल्याउने संकेत राष्ट्र बैंकले गरिसकेको छ । एउटै नीति कसैका लागि अनुकुल त कसैका लागि प्रतिकुल हुन्छ । राष्ट्र बैंकको नीति प्रतिकुल ठान्नेले गभर्नर अधिकारीले ल्याउने मौद्रिक नीतिलाई शंकाले हेर्ने सुविधा पछिल्लो विवादले दिएको छ । तर जानकारहरु भने बाह्य क्षेत्रको व्यवस्थापन र महंगी नियन्त्रण मौद्रिक नीतिको प्राथमिकता रहेकाले शंका गर्नुपर्ने ठाउँ नरहेको बताउँछन् ।

तरलता अभाव, कर्जा संकुचन, उच्च ब्याजदर, महँगीलगायतका कारण निजी क्षेत्र हतोत्साही भएको छ। यसलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई लयमा फर्काउने गरी नीति आउने अनुमान छ। तर कतिपयले यो अवस्थामा आर्थिक, वित्तीय र मौद्रिक नीति निर्माण र कार्यान्वयन गर्ने निकायहरु नैतिक प्रश्नको घेरामा आउनुलाई सामान्य मान्न नसकिने भन्दै तीब्र आलोचना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *