आर्थिक

कसिलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई विज्ञको सु्झाव (भिडियो रिपोर्टसहित)

२०७९ असार २६ गते २०:४४
कसिलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई विज्ञको सु्झाव (भिडियो रिपोर्टसहित)

२६ असार २०७९ काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति असार मसान्तभित्रै ल्याउने तयारी गरेको छ । मौद्रिक नीतिमा सुझाव संकलनसँगै लेखनलाई समेत अघि बढाइरहेको राष्ट्र बैंकले असार मसान्तभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको हो ।

उद्योगी व्यवसायीहरुले सन्तुलित मौद्रिक नीति ल्याउनुपर्ने बताइरहँदा विज्ञहरुले भने तत्कालीन आर्थिक समस्या हल गर्न कसिलो मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिएका छन् ।

यतिबेला मुलुकको अर्थतन्त्र संकटमा छ । मुद्रास्फिर्ति ८ प्रतिशतको वरिपरि छ । चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले र शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा छ ।

गएको असार मसान्तमा राष्ट्र बैंकमा १२ खर्ब ४४ अर्ब रहेको कुल विदेशी विनिमय सञ्चिति १८ दशमलव ३ प्रतिशतले कमी आई १० खर्ब १७ अर्ब रुपैयाँ कायम भएको छ । थप संकटहरु बढ्दै जाने भएकाले बाह्य क्षेत्रको व्यवस्थापन र महंगी नियन्त्रणलाई प्राथमिकतामा राखेर कसिलो मौद्रिक नीति ल्याउनुपर्ने जानकारको सुझाव छ ।

उद्योगी, व्यवसायीहरुले अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले सन्तुलित मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । तरलता अभाव, कर्जा संकुचन, उच्च ब्याजदर, महँगीलगायतका कारण निजी क्षेत्र हतोत्साही भएको छ। यसले गर्दा निजी क्षेत्रको मनोबल बढाउने गरी मौद्रिक ल्याउन निजी क्षेत्रको माग छ ।

यसका साथै सिडी रेसियोको साटो सिसिडी रेसियो गणना गर्न, सेयर बजारमा ४–१२ को सीमा हटाउन, आयात निरुत्साहित गर्नेभन्दा पनि व्यवस्थापन गर्नेतर्फ मौद्रिक नीतिले ध्यान दिन सुझाव छ । तर राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा तय भइसकेको र सोहीअनुसार मौद्रिक उपकरण र उपायहरू हेरफेरलगायतका विषयमा छलफल भइरहेको बताएको छ ।

बाह्य क्षेत्र, महँगी र तरलता व्यवस्थापनमा मौद्रिक नीति केन्द्रित हुने राष्ट्र बैंकले संकेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *