राजनीति

एकीकृत समाजवादीको ठहर : कांग्रेसबाट अपमान, बार्गेनिङको अस्त्र फाल्न वाम एकताको ध्वाँस (भिडियो रिपोर्टसहित)

२०७९ असार १५ गते २१:२२
एकीकृत समाजवादीको ठहर : कांग्रेसबाट अपमान, बार्गेनिङको अस्त्र फाल्न वाम एकताको ध्वाँस (भिडियो रिपोर्टसहित)

१५ असार २०७९ काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको हालै सम्पन्न केन्द्रीय परिषद् बैठकले सत्तारुढ पाँचदलीय गठबन्धनलाई कायम राख्दै वाम एकताको ढोकासमेत खुल्ला राख्ने निर्णय गर्‍यो ।

करिब १५ सय नेता सहभागी केन्द्रीय परिषद्को बैठकले वाम एकताका लागि वार्ताको ढोका खुल्ला राख्दै वर्तमान सत्ता गठबन्धन पनि कायमै राख्ने नीति लिएको छ ।

स्थानीय तह निर्वाचनपछि एकीकृत समाजवादी सत्तारुढ गठबन्धनसँग सन्तुष्ट छैन । तर, आफूलाई स्थापित गर्नका लागि अर्को विकल्प नभएसम्म गठबन्धन छाड्ने पक्षमा पनि देखिँदैन । यस्तै निर्णय केन्द्रीय परिषद् बैठकले गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले पाँचदलीय गठबन्धन पनि नछाड्ने र वाम एकताका लागि ढोका खुल्ला राख्ने दोहोरो नीति अपनाएको देखिन्छ ।

वाम एकताका लागि पहल गर्न वार्ताको ढोका खुल्ला गर्ने एकीकृत समाजवादीका नेताहरू पाँचदलीय सत्ता गठबन्धन अहिलेको आवश्यकता भएको बताउन छाड्दैनन । अब हुने संघ र प्रदेशको निर्वाचनमा आफ्नो पोजिशन कसरी बलियो बनाउने ध्याउन्नमा रहेका एकीकृत समाजवादीका नेताहरू कांग्रेससँगको गठबन्धनमा अपमान भएको भन्न पनि छाडेका छैनन् ।

त्यसैले पनि बार्गेनिङको अस्त्र फाल्न वाम एकताको ध्वाँस पनि उत्तिकै दिन्छन् । पार्टीबाट निर्णय नै गराएर वाम एकताको ढोका खोल्न तयार बनेका एकीकृत समाजवादीका नेताहरूले पाँचदलीय गठबन्धनलाई देखाएर एमालेसँग हिसाब-किताब गर्न खोजेको देखिन्छ । यता, वाम एकताको कुरा गरेर कांग्रेसलाई झस्काउन पनि पछि परेका छैनन् । नेताहरूकै भनाइ पनि पाँचदलीय गठबन्धन कायम राख्ने कि वाम एकता गर्नेमा अलमल छ ।

हालै सम्पन्न केन्द्रीय परिषद् बैठकले १५ बुँदे प्रस्ताव पारित गर्दै समाजवाद क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्न आह्वान पनि गरेको छ । उसले कम्युनिष्ट र वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता र संविधानको रक्षाका लागि एकताबद्ध हुन आह्वान गर्दै सकेसम्म ध्रुवीकरणमा जोड दिएको छ ।

१५ बुँदे प्रस्ताव पारित गरेको एकीकृत समाजवादीले स्थानीय चुनावमा महानगर र उपमहानगरमा गठबन्धन सफल भएको तर, त्योभन्दा तल आफ्नो पार्टीलाई कर्नरमा पार्न खोजिएको समीक्षा गर्नुले पनि अझै ऊ गठबन्धनसँग सशंकित भएको बुझ्न सकिन्छ । त्यसैले पनि एकीकृत समाजवादी एमाले र कांग्रेस एक-अर्कालाई देखाएर आफ्नो पल्लाभारी पार्ने प्रयासमा रहेको प्रष्ट देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्