Main News

प्रहरी महानिरीक्षकमा सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

हिमालय टिभी
२०७९ असार ५ गते ८:५६
प्रहरी महानिरीक्षकमा सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

५ असार २०७९ काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

आफूभन्दा कनिष्टलाई आईजी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको हो । पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा कनिष्टलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा उल्लेख गर्नुभएको छ ।

गत सोमबार एआईजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरिसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेसी तोकिएको थियो ।

आज कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।

सरकारी पक्षको बहसपछि पोखरेलका कानुन व्यवसायीले जवाफी बहस दिएपछि अदालतले फैसला सुनाउनेछ । सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ शुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *