आर्थिक

फस्टाउन थाल्यो पोखराको पर्यटन व्यवसाय (भिडियो रिपोर्टसहित)

२०७९ जेठ ३१ गते १७:३६
फस्टाउन थाल्यो पोखराको पर्यटन व्यवसाय (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७९ पोखरा । कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन व्यवसाय फस्टाउन थालेको छ । अहिले गर्मी छल्नका लागि भारतबाट ठूलो संख्यामा पर्यटक आउँदा पोखराका पर्यटन व्यवसायी उत्साहित छन् ।

पोखरामा यतिबेला भारतीय पर्यटकहरुको लर्को नै लागेको छ । खासगरी गर्मीयाममा भारतका विभिन्न प्रान्तहरुबाट पर्यटक पोखरा आउँछन् । कोरोना महामारीपछि सुस्ताएको पोखराको पर्यटन भारतीय पर्यटकको संख्यामा आएको वृद्धिका कारण ब्यूँतिएको छ ।

पहिले–पहिले धार्मिक पर्यटकको रुपमा नेपाल भ्रमणमा आउने भारतीय नागरिकहरु यतिबेला भने गर्मी छल्नकै लागि पोखरा आउँछन् । नजिकको गन्तब्य भएर पनि पोखरा भारतीय पर्यटकको रोजाइमा पर्दै आएको छ ।

पोखराको फेवाताल, यहाँबाट देखिने हिमश्रृंखला, धार्मिक तीर्थस्थलहरु र यहाँको मौसम नै भारतीय पर्यटकहरुका लागि मन लोभ्याउने आधारहरु हुन् । पोखरा आउनेमध्ये अधिकांश भारतीय पर्यटकहरु जोमसोमस्थित मुक्तिनाथ दर्शनका लागि जाने गरेका छन् ।

युवा पुस्ताका लागि अन्नपूर्ण बेसक्याम्प, पुनहिल, मार्दी हिमाल जस्ता स्थान आकर्षणको केन्द्र हो । यी स्थानका लागि पोखरा आधारस्थल भएका कारण पोखरेली होटल व्यावसायीलाई राहत मिलेको छ ।

पोखराको पर्यटन क्षेत्रमा भारतीयको हिस्सा करिब ४० प्रतिशत छ । पोखरा आउने मध्ये केही हवाईमार्ग हुँदै त केही सुनौलीबाट बुटबल, पाल्पा, स्याङजा हुँदै पोखरा सम्म आउने गर्दछन् ।

पश्चिमाञ्चल होटल संघले भारतीय पर्यटकलाई नेपाल भित्र्याउन विगत केहि वर्षयता लगातार भारतका विभिन्न सहरमा ‘चलिए पोखरा’ कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । त्यसको सकारात्मक परिणाम अहिले देखिन थालेको व्यवसायीको भनाइ छ ।

पोखरामा सबै किसिम गरी करिब ६०० होटलमा २० हजार बेड छन् । वर्षायाम पर्यटनका लागि अफसिजन मानिएपनि अहिले दैनिक ४० प्रतिशत होटल अकुपेन्सी रहेको व्यावसायीको भनाइ छ ।

भारतीयमात्र नभई आन्तरिक पर्यटकको संख्या पनि उत्तिकै छ । भारतीय पर्यटककै कारण अहिले व्यवसायीहरुलाई केहि भएपनि राहत मिलेको छ भने यसले समग्र पर्यटन क्षेत्र र नेपालको अर्थतन्त्रमा महत्वपूण भूमिका निर्वाह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *