आर्थिक

अर्थतन्त्र लयमा आउन अझै कति महिना ? (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २८ गते १८:३७
अर्थतन्त्र लयमा आउन अझै कति महिना ? (भिडियो रिपोर्टसहित)

२८ जेठ २०७९ काठमाडौं । चालू आर्थिक वर्षको सुरुवाती महिनादेखि नै नकारात्मक रहेको मुलुकको अर्थतन्त्र लयमा फर्कन सकेको छैन् ।

अर्थतन्त्र सुधारका लागि नेपाल राष्ट्र बैंक र सरकारले विभिन्न उपायहरु अवलम्बन गरेपनि अधिकांश सूचकहरुको ओरालो यात्रा कायमै छ । अर्थतन्त्र लयमा आउन अझै कम्तिमा तीन महिना लाग्ने अनुमान छ ।

चालू आर्थिक वर्षको १० महिना वैशाखमा विदेशी मुद्रा सञ्चिति २४ अर्ब चार करोड रुपैयाँले घटेर ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । अमेरिकी डलरमा यस्तै सञ्चिति झन २१ प्रतिशतले घटेर ९ अर्ब २८ करोड डलर कायम भएको छ ।

मुलुक भित्रिने र बाहिरिने रकमबीचको अन्तर देखाउने शोधनान्तर घाटा पनि वैशाखमा मात्रै २० अर्ब २४ करोड थपिएको छ । अहिले २ खर्ब ८८ अर्ब ५० करोडले भुक्तानी सन्तुलन घाटामा छ । यस्तै चालू खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा छ ।

यो अवधिमा व्यापार घाटा चालू आर्थिक वर्षको बजेटको संशोधित लक्ष्य नजिक अर्थात १४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ। वैशाख महिनामा मात्रै १ खर्ब २५ अर्ब रुपैयाँ थपिएको छ ।

मुलुकको अर्थतन्त्र संकटमा पर्न थालेपछि राष्ट्र बैंकले गत कात्तिकदेखि एकपछि अर्को कदम चाल्दै आएको थियो । राष्ट्र बैंकले १४ सयभन्दा बढी मालवस्तुमा नगद मार्जिन लगाएर आयात निरुत्साहितको नीति लिएको थियो । बैंकहरुलाई अत्यावश्यक बाहेकका क्षेत्रमा एलसी नखोल्न दबाब दिइरहेको थियो । तर अहिलेसम्म पनि त्यसको प्रभाव देखिएको छैन् । यसको प्रभावले अर्थतन्त्र सुधारिन अझै केही महिना लाग्ने अनुमान छ ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब बढ्दै गएका बेला महंगी पनि प्रत्येक महिना उकालो लागिरहेको छ। वैशाखमा मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशतले पुगेको छ। यो महंगीले नागरिकको ढाड सेकेको छ । विश्वव्यापी आकडा हेर्दा यो दोहोरो अंकमा पुग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *