आर्थिक

लगानीकर्ता भन्छन् राष्ट्र बैंकको नीतिगत असर शेयर बजारमा (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २७ गते २१:२०
लगानीकर्ता भन्छन् राष्ट्र बैंकको नीतिगत असर शेयर बजारमा (भिडियो रिपोर्टसहित)

२७ जेठ २०७९ काठमाडौं । शेयर बजार निरन्तर घटेसँगै लगानीकर्ताहरू अहिले बजार सुधारको माग गर्दै आन्दोलनमा छन् । करिब ६ महिनाको अन्तरालमा परिसूचक ३७ प्रतिशतले घटेको छ भने लगानीकर्ताको सम्पत्ति ३० प्रतिशतले घटेको छ। राष्ट्र बैंकको नीतिगत असर बजारमा परेकाले तत्काल समाधान गर्नुपर्ने माग लगानीकर्ताहरुको छ ।

शेयर बजार परिसूचक (नेप्से) २ हजार ५० दशमलव शून्य ३ को बिन्दूमा आइपुगेको छ। बजार परिसूचक हालसम्मको उच्च बिन्दू ३ हजार १ सय ९८ बाट ११ सय ४८ अंकले घटिसकेको छ। यो करिब ३७ प्रतिशतको गिरावट हो ।

बजार न्यूनतम बिन्दूमा आइपुग्दा चार महिनामा लगानीकर्ताहरूले १२ खर्ब रुपैयाँ गुमाएका छन् । गएको माघ पहिलो साता ४१ खर्ब ६३ अर्ब रुपैयाँ रहेको लगानीकर्ताको सम्पत्ति बिहीबारसम्म आइपुग्दा घटेर २९ खर्ब ३८ अर्बमा झरेको छ । यो करिब ३० प्रतिशतको गिरावट हो । मौद्रिक नीतिले बजारलाई असर परेकाले त्यसको समाधान गर्नुपर्ने माग लगानीकर्ताहरुको छ ।

उसो त अर्थमन्त्री जनार्दन शर्माले पनि राष्ट्र बैंकको नीतिगत समस्याकै कारण बजार ओरालो लागेको स्वीकार गरिसक्नुभएको छ । यसबारे अध्ययन गर्न अर्थमन्त्रालयले चार सदस्यीय समिति समेत गठन गरिसकेको छ । विशेषगरी बजेटले पूँजीगत लाभकर घटाउन सक्ने तथा बजार विकासका लागि नीति ल्याउने अपेक्षामा लगानीकर्ताहरू रहेपनि त्यसो नहुँदा लगातार घटेको बजार थप घटेको बताउँछन् ।

मौद्रिक नीतिमार्फत शेयर कर्जामा ४ करोड र १२ करोड रूपैयाँको सीमा राखिएको छ । ४–१२ को प्रावधानले बजारमा असर पारेको भन्दै हटाउन लगानीकर्ताहरुले लामो समयदेखि माग गर्दै आएका छन् । त्यसबाहेक बैंकिङ क्षेत्रमा तरलताको समस्याका कारण ब्याज दरसमेत उकालो लागेको छ । यी नीतिगत सुधार नभएसम्म बजारमा सुधार नआउने विश्लेषण छ ।

बजार घटेपनि लगानीकर्ताको संख्या भने बढ्दै गएको छ । बजारमा लगानी गर्नका लागि अहिलेसम्म ५१ लाख ९४ हजारले डिम्याट खाता खोलिसकेका छन् । गत कातिकसम्म लगानीकर्ताहरुको संख्या ४६ लाख मात्र थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *