आर्थिक

एक वर्षमा ६० अर्ब बढी घाटा, टाट पल्टने अवस्थामा आयल निगम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २२ गते २१:३१
एक वर्षमा ६० अर्ब बढी घाटा, टाट पल्टने अवस्थामा आयल निगम (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७९ काठमाडौं । पछिल्लो समय नेपाल आयल निगम आर्थिक रुपमा टाट पल्टिदै गएको छ । मासिक घाटा बढ्दै गएर टाट पल्टिने अवस्थामा रहेको निगम थप इन्धन खरिदका लागि सरकारसँग ऋण माग्नुपर्ने अवस्थामा छ । यही अवस्था रहे यो आर्थिक वर्षभित्रै निगम ६० अर्बभन्दा बढी घाटामा जाने निश्चित छ ।

अहिले नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ, डिजेल १ सय ५३ रुपैयाँ र मट्टीतेल १ सय ५३ रुपैयाँमा विक्री भइरहेको छ । यो मूल्यमा इन्धन विक्री गर्दा पनि नेपाल आयल निगमलाई पाक्षिक ३ अर्ब ८९ करोड नोक्सानी छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिका कारण निगमको नोक्सानी चुलिएको हो । निगमले इन्डियन आयल कर्पोरेशनलाई जुन महिनाका लागि पहिलो किस्ताबापत १६ अर्ब र बाँकी बक्यौताबापतको १६ अर्ब गरी ३२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । निगम यो अवस्थामा पुग्नुमा निगमभन्दा पनि सरकार मुख्य दोषी रहेको निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्र पौडेल बताउनुहुन्छ ।

कच्चा तेलको मूल्य बढेकै कारण वैशाख मसान्तसम्ममा निगमको घाटा ४७ अर्ब रुपैयाँ पुगिसकेको छ । असार मसान्तसम्म ६० अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

कर्मचारीलाई बोनस बाँडेर, विक्रेतालाई बढी कमिसन दिएर घाटा गएको भन्दा पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको कारणले निगम घाटामा गएको हो । यसले गर्दा निगमलाई आर्थिक रुपमा बलियो बनाउन सरकारले नीतिगत सहयोग गर्नुपर्ने पूर्वकार्यकारी निर्देशक पौडेलको सुझाव छ ।

नेपालमा हाल प्रतिदिन झन्डै ५ हजार किलोलिटर पेट्रोल, ८ हजार ५०० किलोलिटर डिजल र एक लाख २० हजार सिलिन्डर एलपी ग्यास खपत हुँदै आएको छ। व्यवसायीक ढंगले इन्धनको काराबार गर्ने अधिकार निगमले पाएको भएपनि निगम पूर्ण स्वायत्त छैन । इन्धनको मूल्यलाई राजनीतिक रुपमा र सरकारी हस्तक्षेप रहने गरेको छ। यसले पनि निगमलाई कमजोर बनाउन सघाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *