आर्थिक

विश्व बैंकले थप १५ करोड अमेरिकी डलर नेपाललाई दिने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २१ गते १७:२०
विश्व बैंकले थप १५ करोड अमेरिकी डलर नेपाललाई दिने (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७९ काठमाडौं । विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने भएको छ ।

नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधिकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपालमा उपलब्ध गराउने सम्झौंता गरिएको हो ।

आज सिंहदरवारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थसचिव मधुकुमार मरासिनी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सो सम्झौंतामा हस्ताक्षर गर्नुभयो । कोभिड महामारी, जलवायू परिवर्तनका जोखिमहरुको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणसम्बन्धी आयोजनाहरुलाई सम्पन्न गराउन सो ऋण सहायताले सहयोग पुर्‍याउने अर्थ सचिव मरासिनीले बताउनुभयो ।

सम्झौंता पत्रमा कोभिड १९ महामारीको परिप्रेक्ष्यमा वित्तीय स्थायित्वका जोखिमहरुलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रहरुको परिस्थिति परिवेक्षणलाई यो सहायताले सघाउने उल्लेख गरिएको छ ।

त्यसैगरी यसले पूँजी, बीमा र प्रकोप जोखिम वित्तीय बजारहरु खोल्न र नवीनतम वित्तीय सेवाहरुलाई प्रवर्द्धन गर्न पनि मद्दत गर्ने अर्थ सचिव मरासिनीले जानकारी दिनुभयो । निजी क्षेत्रको नेतृत्वमा हुन सक्ने वृद्धिलाई सहयोग पुर्‍याउने गरी वित्तीय क्षेत्रको कार्यशैली सुधार गर्न पनि यो ऋण सहायता उपयोगी हुने अर्थ मन्त्रालयले जनाएको छ ।

उता, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले सबै वित्तीय बजारहरुमा विस्तारित जलवायु उत्थानशिलता एजेन्डाको शुरुवात गर्नुका साथै रुपान्तरणकारी वित्तीय क्षेत्र सुधारका कार्यक्रमहरुलाई सो ऋण सहायताले सघाउने स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *