पालिकामै विपद व्यवस्थापन तथा तालिम सञ्चालन (भिडियो रिपोर्टसहित)

२०७८ चैत २५ गते १४:४४
पालिकामै विपद व्यवस्थापन तथा तालिम सञ्चालन (भिडियो रिपोर्टसहित)

२५ चैत २०७८ कपिलवस्तु । तराईका जिल्लामा हावा हुरी, आगलागी, बाढी पहिरो र डुबानको समय शुरु हुन थालेको छ । यिनै प्राकृतिक विपत्तिका बेला उपचार तथा उद्धारमा सहयोग पुर्‍याउन सक्ने सक्षम जनशक्ति तयारीको कार्य कपिलवस्तुको यशोधरा गाउँपालिकामा शुरु भएको छ ।

प्रकृतिक विपत्तिमा तराईका जिल्लामा बर्सेनि करोडौंको जनधन क्षति हुँदै आएको छ । विपद न्यूनिकरणमा सरकारले काम त गरिरहेको छ । तर, समुदायस्तरमै जनचेतना नहुँदा एकातिर सरकारी निकायलाई काम गर्न असहज हुँदै आएको छ भने अर्कातर्फ नागरिकले पनि आपत्कालित उद्धार पाएका छैनन् ।

त्यसैलाई मध्येनजर गर्दै यशोधरा गाउँपालिकाले नागरिकलाई विपद्सम्बन्धी आधारभूत तालिम दिएको छ । नेपाल रेडक्रस सोसाइटीको रुपन्देही शाखाले विभिन्न विद्यालय, सुरक्षा निकाय, बाल तथा युवा संजाल, स्वास्थ्य क्षेत्रका प्रतिनिधि सम्मेलित गरेर प्रशिक्षण कक्षा संचालन गरेको हो ।

विपद्का बेला खोज तथा उद्धारको कार्य महत्वपूर्ण हो । यसमा सरकारी संयन्त्रको मात्र सक्रियता पर्याप्त हुँदैन । यो प्रशिक्षण कार्यक्रमले विपद्का बेला गर्नुपर्ने खोज तथा उद्धार कार्य प्रभावकारी हुने विश्वास गाउँपालिकाको छ ।

यशोधरा गाउँपालिका हावाहुरी, आगलागी तथा बाढीको उच्च जोखिममा छ । त्यहीँकै नागरिकले पनि यस्तो प्रशिक्षणको आवस्यकता महसुस गरेका छन् ।

प्रशिक्षणमा उनीहरुले प्राथमिक उपचारका आधारभूत सिद्धान्त, वातावरणीय समस्या र घाइते वा बिरामीलाई यथाशीघ्र सुरक्षित स्थानमा लैजाने, पट्टी बाध्ने तौर तरिका बारे प्रयोगात्मक प्रशिक्षण दिइएको छ ।

यशोधरा गाउँपालिका आगलागी, नदी कटान, बाढी, डुबान, हावाहुरी लगायतका विपदहरुको जोखिम क्षेत्र भएकाले तालिम सीपको व्यवहारिक प्रयोग हुने देखिएको छ । समग्र जिल्लामै विपदका घटना धेरै हुने भएकाले यस्ता सचेतनाका तालिम अन्य पालिकामा समेत सञ्चालन गर्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *