मृत्युको अंक गणित

२०७७ असार २२ गते ८:५४

मृत्युको अंक गणित

सधैं गइरहने कार्यालय, सधैं गरिरहने काम । एउटै गति, एउटै लयमा चलिरहेको थियो । तर आइतबारको दिउँसो एक बजे समाचार कक्षको दृश्य निकै फरक रह्यो । शान्त । यत्तिसम्मको शान्त कि नजिकै बसेका साथीले सास फेरेको थाहा हुन्थ्यो ।

एकले अर्कोसँग नजर जुधाउन सक्ने अवस्था थिएन । धेरैलाई आँखाको बाँध बलियो बनाउन निकै कठिन थियो । तर, आँसुलाई आँखाको डिल नाघ्न कुनै कठिन थिएन । जति भित्रभित्रै पिएर आँसुलाई बाहिर निस्कन नदिनुमा थियो ।

कठिनतम काम हो, साथीको अन्तिम बिदाईमा सामेल हुनु, नजिकै पुगेर माला लगाएको तस्वीरमा पुष्पार्पण गर्नु । त्यही काम गर्‍यौं, हामी सबैले लामबद्ध भएर, एक एक गरेर । भावविह्ल भएर ।

त्यसपछि साथीहरु केहीबेर लाखापाखा लाग्यौं, मानिसलाई हलुंगो हुन एकान्त चाहिन्छ नि । केहीबेरको एकान्तले साथीहरुलाई केही राहत पक्कै दियो । तै पनि काम गर्ने मुड बनिसकेको थिएन । तर नगरी हुने पनि थिएन ।

मृत्यु अन्तिम सत्य हो, अरु सबै भ्रम । सबैले त्यो अन्तिम सत्य स्वीकार गर्नैपर्छ । कसैले चाँडो, कसैले अलि ढिलो फरक यत्ति न हो ।

साथी नवीन शर्माले २८ वर्ष ८ महिना २३ दिनमा अन्तिम सत्यलाई स्वीकार्नु प-यो ।

∞∞

असार १५ देश धान दिवसको माहोला थियो । देश लकडाउनमा थियो, शहर पसेका धेरै मानिसहरु गाउँ पसेर किसान बनेका थिए । छुट्टै रौनक थियो ।

नुहाइ धुवाइ गरेर भाञ्छामा काम गरिहेको थिएँ । बिहान सवा नौ बजे, अर्को कोठामा पसेर मोबाइल हेर्दा सेभ नभएको नम्बरबाट ८ः४२ मा फोन आएको रहेछ । रिसिभ नभएपछि मिसकल देखिने नै भयो ।

तत्काल फोन डायल गरेँ ।

‘दाइ म नवीनको श्रीमती, उहाँसँग धेरै समय छैन, भेट्न मन भए आउनु होला, साथीहरुलाई पनि खबर गर्दिनु होला ।’

उताबाट एकै सासमा आफ्नो कुरा राखिन, यताबाट म निःशब्द भएँ । केहीबेरमा उनैले फोन राखिन् ।

कार्यालय पुग्दा, लगभग सबैलाई नवीनको अवस्थाको बारेमा थाहा रहेछ । ‘भेट्न’ जाने कुरा भयो । ‘भेट्न’ पनि के भन्नु ? हेर्न ‘हेर्न’ पनि भन्ने स्थिति थिएन । साथी एक महिनादेखि अचेत भएर शिक्षण अस्पतालको अति सघन उपचार कक्षमा लम्पसार थिए । बाँच्नुको प्रमाण सास फेर्नु हो । तर त्यो काम पनि आफैँ गर्न नसकेर ‘भेन्टिलेटर’को साहरा लिनु परिरहेको थियो ।

जे होस, अस्पताल पुगियो, त्यही दिन हामीभन्दा अघि जाने साथीहरुले नवीनका श्रीमती र आफन्तसँग कुरा गर्नुभयो । हामी अस्पतालमा पुगेर पनि त्यत्ति पनि गर्न पाएनौ, साथीहरुसँग कुरा गरेर फर्कियौ । नवीनलाई न हामीले देख्यौ‌, न भेट्यौ‌ । अरु साथीहरुले नवीनलाई एक महिना केही दिन नदेखि विदा गरेँ, मैले अझै बढी डेढ महिनाभन्दा बढीदेखि देखेको थिइनँ ।

∞∞

असार १८ गते बिहानै थाहा थियो । आज नवीनको अन्तिम दिन हो, भनेर । अस्पताल पुगेको ३२ दिनसम्म भेन्टिलेटरको साहयताले बाँचेको नवीन चीरनिद्रामा पुगे । हिमालय टिभी न्यूज भन्ने आन्तरिक समूहमा अस्पतालबाट समाचार संयोजक सुशील अर्यालले अलविदा नवीन लेखे । त्यसपछिको माहोल शब्दमा कैद कसरी गरौं !

मृत्यु समाचार लेख्ने, जिम्मेवारी मैमाथि आइपुग्यो । दिनहुँ मृत्युका समाचार लेखिरहेकै हो, सुनिरहेकै हो । तर यो मृत्युको ‘समाचार’ लेख्न निकै कठिन भयो । प्रशासनबाट नवीनको जन्म मिति मगाएर हेरेपछि यो मृत्युले झन धेरै चिमोट्यो । समाचारमा उल्लेख नगर्दा पनि हुने अंक गणितमा लागेँ, २८ वर्ष ८ महिना २३ दिन । नवीनको जीवन यत्ति रहेछ । म ठोकुवा गरेर भन्न सक्छु, आठ र दुई जुन शुरुका दुई अंक छन, त्यसको स्थान फेरेर, सहकर्मीकै मृत्युको समाचार लेख्नु परेको भए म कम दुख्थे । जसरी मृत्युको अंक गणितले, दुःखको अंक गणितलाई फरक पार्छ नै । जसरी अक्षर त्यसले बोल्ने भावले फरक पार्छ । मृत्युको समाचार लेखेको तीन दिन पछि हार्दिक श्रद्धाञ्जली लेख्दा पनि त्यस्तै सकस प-यो ।

∞∞

असार १५ गते फोन गर्ने नवीन शर्माकी श्रीमतीको अवस्था के भयो होला त्यतिबेला । मेरो सर्वस्व नै यही हो भनेर जिन्दगी सुम्पेको एक वर्ष पनि नहुँदै । मैले उनलाई प्रत्यक्ष त परै जाओस फोटोमा पनि देखेको छैन, आवाज सुनेको पनि एक मिनेटभन्दा पनि निकै कम हो । उनले गरेको पहिलो सम्बोधन‘दाइ’ले धेरै समयदेखिको परिचित जस्तो लाग्यो । मैले उनलाई ‘बहिनी’देखें । विवाह भएको एक वर्ष पनि नहुँदै श्रीमान गुमाएकी ‘बहिनी’को अवस्था कस्तो होला ? अब श्रीमान गुमाएको पीडामा हाम्रो ‘समाज’ले ती अवोध बहिनीलाई के के लाञ्छना लगाउने हो । यसले मन पोलिरहेको छ ।

∞∞

कोरोनाको महामारीका बीच विरामी पर्नु । पीसीआर परीक्षणको रिपोर्ट नआउँदासम्म अन्य उपचार प्रभावकारी रुपमा शुरु नहुनु । पीसीआर परीक्षणका लागि बेहोर्नु परेको सास्ती, अस्पतालको अव्यवस्था, लापर्वाही, ढिलासुस्ती यी आदि कुराको कुरा गरी साध्य नै छैन । अचेत अवस्थामा अस्पताल पुगेको विरामीको त पीसीआर रिपोर्टका लागि चार दिन लाग्छ भने पछि हाम्रो स्वास्थ्य प्रणाली कस्तो छ भन्ने उजागर गर्छ । अस्पताल पुगेको जोकोहीलाई कोरोना संक्रमण भएको शंका गर्ने अनि पीसीआर परीक्षणका लागि आलटाल गर्ने, ढिलाढालो गर्ने प्रवृत्तिको तत्काल अन्त्य हुनु जरुरी छ । नवीनलाई पनि शुरुमा कोभिड वार्डमा मै राखियो । चारदिन पछि पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्रै अर्को वार्डमा सारियो । ३२ दिनको अवधिमा नवीनकी श्रीमती बुवाआमा परिवारका सदस्यहरुले के के भोगे ?अल्पायुमै छोरो गुमाउनु परेको बाआमाको हालत कस्तो होला ? समाचार लेख्दा होस, वा श्रद्धाञ्जली लेख्दा मात्रै है । यी शब्दहरु लेखिरहँदा पनि नवीनको मृत्यु भएको विश्वास लागिरहेकै छैन । कुनै रिपोर्ट लिएर एडिटिङ रुपमा पस्दा– हे दाइ चिन्ता लिनै पर्दैन ‘तीन मिनेट’मा भइहाल्छ, बाइट काटेर जानुस भन्ने आवाज फेरि पनि सुनिन्छ कि भन्ने लागिरहन्छ । तर त्यो त भ्रम मात्र हो, अलबिदा नवीन, यही चाहिँ सत्य हो ।


प्रतिक्रिया

One thought on “मृत्युको अंक गणित

Leave a Reply

Your email address will not be published. Required fields are marked *