Main News

कांग्रेसमा दुवै पक्षको शक्ति सङ्घर्ष, बिलखबन्दमा शेखर

हिमालय टिभी
२०८३ भदौ ३० गते २०:३१
कांग्रेसमा दुवै पक्षको शक्ति सङ्घर्ष, बिलखबन्दमा शेखर

काठमाडौं : कांग्रेसले असोज ३ देखि वडा अधिवेशन र असोज १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेपछि देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ ।

अर्कोतर्फ, १४औं महाधिवेशनमा इतर समूहको नेतृत्व गरेका शेखर कोइराला भने दुवै पक्षको शक्ति सङ्घर्षका कारण बिलखबन्दमा पर्नु भएको छ । नेताहरू अझै पनि सहमतिको सम्भावना रहेको बताइरहेका छन् । पूर्वसभापति शेरबहादुर देउवाले त कुनै प्रकृयामा भाग नलिन अपिल नै गर्नुभएको छ ।

विशेष महाधिवेशनपछि संस्थापन र इतर पक्षबिचको खाडल पुर्ने अनेकन प्रयासहरू असफल भएपछि नेपाली कांग्रेस एक हुने सम्भावना क्षीण भएको छ । यद्यपि संस्थापन पक्षले १४औं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई १५औं महाधिवेशन आयोजक समितिमा स्वतः मनोनीत गर्दै पार्टी एकताको ढोका खुला राखेको दाबी गरेको छ।

तर, देउवा पक्षले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्म र १४औं महाधिवेशनकै सांगठनिक संरचनालाई मान्यता नदिएसम्म महाधिवेशनमा सहभागी नहुने अडान कायम राखेको छ। संस्थापन पक्षले असोज ३ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडामा अनिवार्य रूपमा वडा अधिवेशन सम्पन्न गर्न निर्वाचन समितिलाई परिपत्र गरिसकेको छ।

वडा अधिवेशनमा सहभागी नहुने नेता-कार्यकर्ता १५औं महाधिवेशनको प्रक्रियाबाट स्वतः बाहिरिने विधानात्मक बाध्यताका कारण देउवा पक्षीय कार्यकर्ताहरूमा अन्योल बढेको छ। यता देउवा पक्ष भने चुनदेवीकेन्द्रित बैठकहरू गरी असोज १५ देखि छुट्टै अधिवेशन गर्ने र अदालतको आदेश पर्खिने रणनीतिमा जुटेको छ।

पार्टीमा दुई समूहबीच शक्ति प्रदर्शन भइरहँदा शेखर कोइराला भने सङ्कटमा पर्नुभएको छ। पार्टीलाई एकताबद्ध बनाउन निरन्तर मध्यस्थता गर्दै आएका कोइरालाले सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा दुवैलाई लचिलो हुन आग्रह गर्नुभएको थियो। तर, दुवै पक्ष आ-आफ्नो अडानमा कायम रहेपछि कोइरालाले दुवै पक्षका महाधिवेशन बहिष्कार गर्ने तयारी गर्नुभएको छ। यद्यपि, संस्थापन पक्षका केही वरिष्ठ नेताहरू अझै पनि विवाद मिलाउने प्रयासमा छन्।

नेपाली कांग्रेसको इतिहासमा वडा तहदेखि नै यसरी दुई समानान्तर धार र बहिष्कारको राजनीति विरलै देखिएको थियो। एकातिर संस्थापन पक्षले असोज ३ को वडा अधिवेशनमार्फत वैधानिक नियन्त्रण कायम गर्न खोजेको छ भने अर्कातिर देउवा पक्ष कानुनी र राजनीतिक लडाइँमार्फत आफ्नो अस्तित्व जोगाउने दाउमा छ।

यस्तो सङ्क्रमणकालीन अवस्थामा शेखर कोइरालाजस्ता शीर्ष नेताको मौनता वा बहिष्कारले तल्लो तहका कार्यकर्तालाई झनै दिशाहीन बनाएको छ। असोज ३ गतेको वडा अधिवेशनअघि नै कुनै मध्यमार्गी सहमति जुट्न सकेन भने लोकतन्त्रको पर्याय मानिने नेपाली कांग्रेस १५औं महाधिवेशनसम्म पुग्दा पूर्ण रूपमा विभाजित हुने निश्चितप्रायः देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्