बिशेष

डिजिटल ठगीको मुख्य माध्यम बन्दै ह्वाट्सएप, फेसबुक र टेलिग्राम, दैनिक २० जना नेपाली लुटिँदै

२०८३ भदौ ५ गते १८:४१
डिजिटल ठगीको मुख्य माध्यम बन्दै ह्वाट्सएप, फेसबुक र टेलिग्राम, दैनिक २० जना नेपाली लुटिँदै

काठमाडौं : इन्टरनेटको पहुँचसँगै सामाजिक सञ्जाल हाम्रा लागि दैनिक जीवनको अभिन्न अङ्ग बनेको छ । तर, यही सञ्जालको असावधानीपूर्वक प्रयोगले दैनिक दर्जनौँ नेपाली ठगको फन्दामा परिरहेका छन् । कुन-कुन एपबाट, कसरी र कति सङ्ख्यामा नेपाली ठगिइरहेका छन् त ?

२४ घण्टा… अर्थात् एक दिन ! तपाईँ-हामी दिनभर मोबाइलको स्क्रिनमा रमाउँदै गर्दा दिनकै २० जना नागरिक कुनै न कुनै सामाजिक सञ्जालमार्फत ठगिइरहेका छन्।

नेपालको अधिकांश स्थानमा इन्टरनेटको पहुँच पुगिसकेको छ भने फेसबुक, युट्युब, टिकटक, ह्वाट्सएप र इन्स्टाग्राम नेपालीको दैनिक जीवनका अभिन्न अङ्ग बनिसकेका छन्। सञ्चार, व्यापार, मनोरञ्जन र समाचारका लागि सामाजिक सञ्जालले सहजता त ल्यायो, तर यसको सही र सुरक्षित प्रयोग गर्न नजान्दा आम मानिस यसकै सिकार बनिरहेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा मात्रै विभिन्न सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट ठगिएका ७ हजार २९६ वटा आधिकारिक उजुरी परेका छन्।

आखिर कुन सञ्जालबाट मानिसहरू सबैभन्दा बढी ठगिइरहेका छन् त ?

ह्वाट्सएप – २,१०३ उजुरी:

ठगीका लागि प्रयोग हुने पहिलो नम्बरमा ह्वाट्सएप देखिएको छ। ह्वाट्सएपमा ‘लक्की ड्र परेको’, ‘विदेशबाट बहुमूल्य पार्सल आएको र भन्सार छुटाउन पैसा चाहिने, वा पार्ट-टाइम जबको प्रलोभन देखाएर बैंक विवरण र ओटीपी मागेर ठग्ने गिरोह सक्रिय छ।

फेसबुक – १,९३७ उजुरी:

दोस्रो स्थानमा रहेको फेसबुकमा ब्रान्डेड सामान अति सस्तोमा दिने नक्कली स्पोन्सर विज्ञापन राख्ने, वा साथीको आइडी ह्याक/डुप्लिकेट बनाई विपद पर्यो, अर्जेन्ट पैसा पठाइदेऊ भन्दै रकम असुल्ने गिरोह सक्रिय छ।

टेलिग्राम – ९०३ उजुरी:

तेस्रो नम्बरमा रहेको टेलिग्राममा टास्क स्क्याम, पार्ट-टाइम जब, ब्ल्याकमेलिङ, शङ्कास्पद एपीके फाइल र फिसिङ लिङ्क पठाएर रकम ठग्ने क्रम व्यापक छ।

टिकटक – ७२८ उजुरी:

चौथो स्थानमा रहेको टिकटक लाइभमा सिक्का/गिफ्ट पठाउने बहानामा वा सस्तो दरमा डलर र महँगा मोबाइल बेच्ने भन्दै रकम हाल्न लगाएर ठग्ने गरिएको छ।

इन्स्टाग्राम- २७२ उजुरी:

इन्स्टाग्राममा नक्कली कपडा र जुत्ताका आकर्षक पेज बनाएर अग्रिम भुक्तानी लिने र सामान नपठाई ग्राहकलाई ब्लक गरिदिने प्रवृत्ति देखिएको छ।

भुक्तानी वालेट र अन्य एपहरू:

सामाजिक सञ्जालमा विश्वास दिलाइसकेपछि रकम हात पार्न डिजिटल वालेटको दुरुपयोग गरिन्छ। गत आर्थिक वर्ष २०८२/०८३ मा इसेवाबाट १०६ र आईएमई/खल्टीबाट ३३ वटा ठगीका भुक्तानी भएका छन्। यसबाहेक इमोबाट १३, विच्याटबाट १०, भाइबरबाट ५ र युट्युबबाट ५ वटा ठगीका केस दर्ता भएका छन्।

मानिसहरू सजिलै यस्तो जालमा पर्नुको मुख्य कारण डिजिटल साक्षरताको कमी, छोटो समयमा धेरै पैसा कमाउने लोभ र असावधानी नै हो।

यसबाट जोगिनका लागि ह्वाट्सएप वा टेलिग्रामका भ्रामक अफरको लोभमा पर्नु हुँदैन। अनलाइन किनमेल गर्दा सामान हात परेकाे खण्डमा मात्र भुक्तानी गर्ने बानी बसाल्नुपर्छ। आफ्नो मोबाइलमा आउने OTP कोड, पिन वा पासवर्ड कसैलाई पनि सेयर गर्नु हुँदैन। यदि ठगीमा परिहालेमा ढिला नगरी साइबर ब्यूरो वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ।

सामाजिक सञ्जाल र आधुनिक प्रविधि हाम्रा लागि अवसर हुन्, तर थोरै असावधानी वा लोभले वर्षौंको कमाइ र प्रतिष्ठा एकै क्षणमा गुम्न सक्छ। प्रविधि चलाऔँ, तर प्रविधिको जालमा नपरौँ। सचेत बनौँ, सुरक्षित रहौँ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्