कला/मनोरञ्जन

संसद बहिष्कार गरेर टिकटकरसँग नाच्दै प्रधानमन्त्री ओली

हिमालय टिभी
२०८१ माघ २५ गते १९:३५
संसद बहिष्कार गरेर टिकटकरसँग नाच्दै प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्मा प्रतिपक्षी दलको आवाज सुन्ने धैर्य छैन, या सुनिहाले पनि आफ्नै कमजोरी झल्किने डर छ?

प्रमुख प्रतिपक्षी नेता प्रचण्ड संसद्‌मा सरकारको नालायकीपनमाथि प्रहार गरिरहँदा, उहाँ बालुवाटारमा हुनुहुन्थ्यो । सचिवालयका अनुसार उहाँलाई प्रतिपक्षको सम्बोधनबारे जानकारी थिएन रे ? पत्याउनुहुन्छ ? प्रधानमन्त्रीलाई संसदको कार्यसूची थाहा नहुने पनि हुन्छ र ? तर त्यस्तै भयो । टिकटकरसँग समय बिताउन भ्याउने प्रधानमन्त्रीले संसदमा प्रतिपक्षको सम्बोधन सुन्न भ्याउनु भएन ।

बिहीबारको दिन थियो। संसदमा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची थियो । यो कार्यसूची एक्कासी बनेको होइन । माघ १८ मा जब हिउँदे अधिवेशनको पहिलो बैठक बस्यो, त्यही दिन माघ २४ को बैठकमा प्रचण्डले बोल्ने निश्चित भइसकेको थियो । बिहीबार ‘प्रचण्ड’ रोस्टममा उभिएर सरकारको समीक्षा गर्दै हुनुहुन्थ्यो । तर, जब उहाँले आफ्नो सम्बोधन सुरु गर्नुभयो, सबैभन्दा पहिला प्रधानमन्त्री ओलीलाई खोज्नुभयो । तर उहाँ त्यहाँ हुनुहुन्न थियो।
संसदीय प्रणालीको सामान्य परम्पराअनुसार, प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा सत्तापक्षका शीर्ष नेता उपस्थित हुने नैतिक जिम्मेवारी रहन्छ। तर प्रधानमन्त्री ओली सदनमा उपस्थित हुनुभएन । उहाँ बालुवाटारमा हुनुहुन्थ्यो । जसलाई उहाँ आफैले सामाजिक सञ्जालमा लेखेर आन्तरिक काममा ब्यस्त भएको जानकारी दिनुभएको थियो ।

संसद् बहिष्कार गरेर सरकार चलाउने उहाँको शैली नौलो होइन। प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीलाई प्रचण्डले सम्बोधन गर्नेबारे जानकारी नभएको जनाएको छ । थाहा थिएन! कस्तो अचम्मको कुरो! सत्ताको सर्वोच्च पदमा रहेको व्यक्तिलाई संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता बोल्ने जानकारी नै थिएन रे !

जबकी बुधबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानुन मन्त्री अजयकुमार चौरसिया स्वयं उपस्थित हुनुहुन्थ्यो। त्यहाँ निर्णय भयो— प्रचण्ड भोलि अर्थात् बिहीबार संसद्मा बोल्ने । कानुनमन्त्री भनेकै सरकारको औपचारिक प्रतिनिधि हो। अब भन्नुस्, कानुन मन्त्रीले जानकारी गराउँदैनन् त? कि प्रधानमन्त्री ओली आफ्नै मन्त्रीहरूसँग पनि संवादहीन अवस्थामा हुनुहुन्छ र ?

देशको प्रधानमन्त्री आन्तरिक काममा ब्यस्त भएको जनाउ दिनु ठीकै हो । तर उहाँ साँझ टिकटक स्टारहरूसँग फोटो खिच्न, गफ गर्न, रमाइलो गर्न व्यस्त हुनुहुँदो रहेछ । रोचक कुरा के भने, प्रचण्डले सामाजिक सञ्जाल नियमन विधेयकको विरोध गरेको केही घण्टामा सामाजिक सञ्जालमा तस्वीर राख्दै उहाँ टिकटकबाट अकुत पैसा कमाएका अंशु बर्मा र टिकटकबाट कलाकारितामा प्रवेश गर्नुभएकी पवि शाकीसँग गफिँदै हुनुहुन्थ्यो । गफिने मात्र कहाँ हो र ? टिकटक भिडियो नै बनाउँदै हुनुहुन्थ्यो ।
सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति स्वतन्त्रताको विरोध गर्नेहरूमाथि अंकुश लगाउने सरकार आफैं टिकटक स्टारहरूसँग सेल्फी खिचेर ‘जनतासँगै छु’ भन्ने भाष्य स्थापित गर्दै हुनुहुन्थ्यो।

संसदीय शासन व्यवस्थामा संसद् सरकारको ‘सुपरभाइजर’ हो। सरकार संसद्को अघि जिम्मेवार हुनुपर्छ। संविधानले कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीलाई संसद्प्रति जवाफदेही बनाएको छ। प्रधानमन्त्री संसद्सँग भाग्ने होइन, संसद्मा आएर आफ्नो नीति-निर्णयको बचाउ गर्ने हो। तर ओलीका लागि यो ‘साना कुरा’ रहेछन्। संसद्को कारबाहीमा भाग लिनुभन्दा उहाँले टिकटक बनाउन रुचाउनुभयो।

देशको प्रधानमन्त्री जनताका समस्या सुन्न, संसद्मा छलफल गर्न र नीतिगत निर्णय लिन हो। तर ओलीको प्राथमिकता फरक छ। उहाँ संसद्प्रति जवाफदेही हुनुको सट्टा ‘प्रचार’ को मोहमा फसेका छन्। ‘सत्ता भनेको शक्ति हो, जवाफदेही होइन’ भन्ने उहाँको मनोवृत्ति प्रस्ट देखिन्छ।

लोकतन्त्रमा सत्ताले संसदलाई सम्मान गर्छ। सरकार प्रमुखले संसद्मा आएर आफ्नो नीति र निर्णयको बचाउ गर्छ। तर ओली त्यो बाटोभन्दा अलि पर पुग्नुभयो । अब उहाँ संसद् छलेर, जनताको प्रतिनिधिहरूको सामना नगरी, ‘टिकटकर’ हरूसँग फोटो खिच्दै आफ्नै दुनियाँमा रमाइरहेका रहनुभएको छ । हुन त केही समयअघि पानीको माग लिएर भेट्न पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेट नदिनुभएका ओलीले टिकटकरसँग राम्रै साँझ व्यतित गर्नुभयो । अब यसलाई कसरी बूझ्ने ? संसदको उपहास वा प्रचण्डलाई ईग्नोर ? जवाफ त दिनुपर्ला नि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *