कला/मनोरञ्जन

मेनुका पौडेलको स्वरमा ‘बादलु माथि’ सार्वजनिक

हिमालय टिभी
२०८० पुष २५ गते १३:५२
मेनुका पौडेलको स्वरमा ‘बादलु माथि’ सार्वजनिक

काठमाडौँ । भारतीय रियालिटी शो इन्डियन आइडलको टप ११ मा पुगेर चर्चामा रहेकी गायिका मेनुका पौडेलको स्वरमा ‘बादलुमाथि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

चर्चित गायक राजनराज शिवाकोटी र मेनुका पौडेलको संयुक्त स्वर रहेको उक्त गीत रेबेल क्रिएशनले बजारमा ल्याएको हो ।

कर्णप्रीय स्वरमा रहेको उक्त गीतको शब्द एवं सङ्गीत गायक एवं सङ्गीतकार राजनराज शिवाकोटी स्वयमले गर्नुभएको हो ।

नेपालमा मात्र नभई हाल भारतमा समेत चर्चाको शिखरमा पुगेकी गायिका मेनुकाको उक्त गीतको भिडियो सम्पादन नकुल खड्काले गर्नुभएको हो । रेबेल क्रियशनले गीतको अफिसियल भिडियोसमेत छिट्टै ल्याउने बताएको छ ।

गीतका निर्माता गगनलाल प्रधानले मेनुकाको स्वरको यो गीतले उनको थप मनोबल बढ्ने विश्वासका साथ गीत सार्वजनिक गरिएको बताउनुभयो । नेपाली चेलीलाई भारतीय भूमिका मिलिरहेको सफलतालाई थप ऊर्जा मिलोस् भनेर आफूहरूले यो गीत सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।

गायक राजनराज शिवाकोटीले मेनुकाको प्रतिभालाई सही समयमै श्रोतामाझ पुर्‍याउन आफूहरूले यो गीत बजारमा ल्याएको बताउनुभयो । ‘मेनुकाले जुन सफलता हासिल गरिरहेकी छन् यो गीतले त्यो सफलतामा अझै ऊर्जा भर्नेछ भन्ने विश्वास लिएको छु’उहाँले बताउनुभयो । ‘इन्डियन आइडलमा सङ्गीतकी साक्षात् स्वरूप’ भनेर परिचय बनाएकी मेनुका पौडेलको यो गीतले उनको ‘साङ्गीतिक उडान’मा थप सफलता मिल्ने विश्वास आफूले लिएको उहाँले बताउनुभयो ।

इन्डियन आइडलमा मिलिरहेको सफलता र चर्चाकै बीचमा बजारमा आएको नेपाली गीतलाई थप चासोका साथ हेरिएको छ । मेनुकाले इन्डियन आइडलमा दर्शक श्रोता माझ मात्र हैन कार्यक्रमका निर्णायक र अतिथिहरूलाई चकित हुने गरी गीत गाइरहेकी छन् ।

प्रतिक्रिया

One thought on “मेनुका पौडेलको स्वरमा ‘बादलु माथि’ सार्वजनिक

  1. अति सुन्दर शब्द अनि स्वर ,अति मिठो स्वरकी धनी मेनुका बहिनी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *