भोलिदेखि द भ्वाइस अफ नेपाल सिजन सिक्स शुरू हुँदै

काठमाडौं : हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको लोकप्रिय शो द भ्वाइस अफ नेपाल’ सिजन सिक्सको सिजनको प्रिमियर गरिएको छ ।
बिहीबार नयाँ बानेश्वरमा आयोजित प्रिमियर कार्यक्रममा शोसँग सम्बन्धित सेलिब्रेटीको उपस्थिति रह्यो ।
हिमालय टिभी एचडीका अध्यक्ष धर्मराज भुसाल, निर्देशक श्याम कंडेल, कोचहरु राजु लामा र खेम सेन्चुरी, होस्ट सुशिल नेपाल तथा निर्देशक लक्ष्मण पौडेलको उपस्थितिमा प्रिमियर गरिएको हो।
द भ्वाइस अफ नेपाल सिजन सिक्सको ब्लाइन्ड अडिसनको पहिलो एपिसोड प्रिमियरमा प्रदर्शन गरिएको थियो । नेपालका बिभिन्न जिल्ला र अन्य देशबाट समेत आएका प्रतिभाले ब्लाइन्ड अडिसनमा प्रस्तुति दिएका छन् ।
ब्लाइन्ड अडिसनमा १२० प्रतिभाले प्रतिस्पर्धा गर्दैछन् । जसको छायांकन सम्पन्न भैसकेको छ। प्रिमियरमा शोका प्रायोजकदेखि संचारकर्मीको उपस्थिती थियो । द भ्वाइस अफ नेपालको सिजन सिक्समा उदय सोताङ, राजु लामा, खेम सेन्चुरी र मेलिना राई कोचको रुपमा छन् ।
द भ्वाइस अफ नेपालका निर्देशक पौडेलका अनुसार ब्लाइन्ड अडिसन प्रसारण भइसकेपछि ब्याटल राउन्डको छायांकन सुरु हुनेछ ।
भ्वाइस अफ नेपालमा अघिलो संस्करण जस्तै अहिले पनि ब्लक्ड नियम राखिएको छ । ४ जना कोचले यो सिजनभरि एक पटक यस्तो अधिकार प्रयोग गर्ने सक्छन् ।
एउटा कोचले अर्को कोचलाई कमजोर बनाउन र आफूलाई बलियो देखाउन यो नियम थपिएको र यसले प्रतिस्पर्धालाई रोचक बनाउने निर्देशक पौडेलले बताउनुभयो ।
द भ्वाइस अफ नेपालको सिजन सिक्स भोलि शुक्रबारदेखि हिमालय टिभी एचडीमा प्रसारण हुँदैछ । शो प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे प्रसारण हुनेछ ।
प्रतिक्रिया