‘नेपाल्स नेक्स्ट टप मोडल’ हिमालय टेलिभजनमा प्रशारण हुने
काठमाडौं : हिमालय टेलिभिजन एचडीले विश्वचर्चित अमेरिकी फेसन रियालिटी शो ‘नेक्स्ट टप मोडल’को नेपाली संस्करण ल्याउने भएको छ।
टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले ‘भ्वाइस अफ नेपाल’ सिजन ६ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यसबारे खुलासा गर्नुभयो।
उहाँका अनुसार चैतदेखि ‘नेपाल्स नेक्स्ट टप मोडल’लाई प्रसारणमा ल्याउने तयारी भइरहेको छ।
‘हिमालय रोडिज’को जस्तै संरचनामा बन्ने यो फेसन शो नेपालको पहिलो फेसन रियालिटी शो समेत हुनेछ, जसलाई चैतदेखि छायांकन गर्ने जनाइएको छ ।
‘भ्वाइस अफ नेपाल’ फेम्ड लक्ष्मण पौडेलले निर्देशन गर्ने शोका जजलाई चाँडै सार्वजनिक गर्ने तयारी छ । सुरुमा विश्वव्यापी भौतिक र डिजिटल अडिसनमार्फत २० जना मोडल छनोट गरिनेछ ।
छनोट मोडललाई जजले दैनिकरुपमा फोटोसुटसहित व्यक्तित्व विकास र चुनौती लगायतका टास्क दिनेछन् । कुल २० भागको हुने शोमा १४ भागको वान टाइम सुटिङ सुटिङ हुनेछ भने बाँकी दर्शकको मत र जजको निर्णयको आधारमा विजेता छनोट हुनेछन् ।
हिमालय टिभीले पहिलोपटक फेसनमा आधारित शो ल्याउन लागेको हो । उद्यमशीलतामा आधारित रियालिटी शो ‘शार्क ट्यांक’ पनि आउने निश्चित छ । यसबाहेक एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ र गायनमा आधारित ‘द भ्वाइस अफ नेपाल’ र ‘भ्वाइस किड्स’ प्रसारण भइरहेका छन् ।
‘फरक क्षेत्रका रियालिटी शोले दर्शकसँग जोडिन मद्दत गर्ने हाम्रो विश्वास छ,’ टेलिभिजनका कार्यकारी निर्देशक कँडेलले भन्नुभयो, ‘अहिलेको संकटपूर्ण बजारको स्थितिमा दर्शकको रुचि र चाहनालाई सर्वोपरी राख्ने हाम्रो ध्येय हो ।’
नेक्स्ट टप मोडल रियालिटी शोको सुरुवात अमेरिकाबाट भएको हो । टायरा ब्यांक्सले सिर्जना गरेको टप मोडलको अवधारणा अहिले विश्वका विभिन्न मुलुकमा फ्रेन्चाइजको रुपमा प्रसारण हुँदै आएको छ ।
प्रतिक्रिया