नेपाली राजनीति : मेलमिलाप हैन सत्तोसराप नीति !
काठमाडौं : नेपाली राजनीतिमा मेलमिलापको कुरा धेरै भए पनि व्यवहारमा कहीँ कतै देखिँदैन । वीपी कोइरालाले २०३३ सालमा मेलमिलापको नीति ल्याएर सहअस्तित्व र सौहार्दताको बाटो देखाउनुभयो। तर अहिलेका नेताहरू सँगै हुँदा चाटाचाट, नहुँदा काटाकाटमा व्यस्त छन्।
कांग्रेसभित्रको गुटबन्दी होस् वा ओली–प्रचण्ड, गगन–रवीको आरोप–प्रत्यारोप, सबैले देखाउँछ कि मेलमिलापको नारा भाषणमा मात्र सीमित छ। सत्तामा रहँदा लुटपाट र सत्ता बाहिर रहँदा गालीगलौज गर्ने यो प्रवृत्तिले मेलमिलाप कागजमै सीमित भएको छ ।
२०३३ साल पुस १६ गते ! नेपाली कांग्रेका संस्थापक नेता वीपी काेइरालाले भारत बसाइ अन्त्य गर्दै स्वदेश फर्किदै मेलमिलापकाे नीति अख्तियार गरेकाे दिन । राजाविरुद्ध आन्दाेलन जारी राखेका काेइरालाले राजासँगै मिलेर प्रजातन्त्र स्थापना गर्नेगरी मेलमिलापकाे नीति अघि सार्नुभएकाे थियाे । तर, ४८ वर्षपछि काेइरालाले स्थापना गरेकाे कांग्रेसकै नेताबीच मेलमिलाप छैन । अहिले शेरबहादुर देउवा-शेखर काेइराला वा गगन थापा लगायत नेताहरुबीच नै एक-अर्कासँग मेलमिलाप देखिदैनन् । तर, उनीहरु नै वीपीकाे मेलमिलापकाे सान्दर्भिकताकाे कुरा गर्छन् । हामीले मात्र भनेकाे हाेइन, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा नै याे कुरा स्वीकार गर्नुहुन्छ ।
कांग्रेसमा मात्र हाेइन, नेपालका पुराना र नयाँ सबै दलमा मेलमिलापकाे अवस्था छैन । एक-अर्काविरुद्ध अपाच्य गालिगलाैच गर्न उनीहरु पछि पर्दैनन् । सत्ता स्वार्थका लागि चाटाचाट गर्ने नेताहरु विपक्षकाे कित्तामा उभिनेवित्तिकै सत्ताेसराप गर्छन् ।
ओली–प्रचण्ड टकराव
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्ध पनि सत्तामा हुँदा चाटाचाट र नहुँदा काटाकाटको रूपमा चित्रित हुन्छ। असार १७ पछि गठबन्धन टुटेपछि यी दुई नेताले एकअर्कालाई विभिन्न आरोप लगाउँदै आएका छन्। प्रचण्डले ओलीलाई देशकै सबैभन्दा ठूलो ‘जाली र झेली’ भन्दै आलोचना गर्नुभएको छ भने ओलीले प्रचण्डलाई ‘भ्रष्टाचारका संरक्षक’ भन्ने आरोप लगाउनुभएको छ।
एमाले–माओवादी टकराव
२०८१ असार १७ मा गठबन्धन टुटेपछि एमाले र माओवादीका नेताले एकअर्कालाई दोषारोपण गर्ने परिपाटी अपनाएका छन्। माओवादीले ओली नेतृत्वको एमालेलाई भ्रष्ट पार्टी ठहराउँदै आएको छ भने एमालेले माओवादीलाई देशको समस्या निम्त्याउने प्रमुख कारकका रूपमा चित्रण गरेको छ। यतिसम्मकी दुई दलका पार्टीका बैठकमै एकअर्काका अभिव्यक्तिबारे बहससमेत हुने गरेका छन् । माओवादी एमाले र ओलीलाई गिरिबन्धु, यति, ओम्नी जस्ता काण्डमा बेइमानी गरेको भन्दै आएको छ । यता एमाले पनि माओवादी र प्रचण्डलाई क्यान्टोनमेन्टलगायतका काण्डमा देशको ढुकुटी रित्याउने काम गरेको भनेर तल्लोस्तरको गालीगलौज गरिरहेका छन् । यो आरोपप्रत्यारोपको श्रृंखला पार्टीको शीर्ष तहमा मात्रै समिति छैन तल्लो तहका नेताहरु पनि एकअर्काविरुद्ध खनिरहेका छन् ।
ओली–नेपाल टकराव
प्रधानमन्त्री ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पनि सम्बन्ध सुमधुर छैन् । २०७८ असारसम्म एउटै पार्टीमा रहेका ओली र नेपाल अहिले एकअर्का प्रति आरोपप्रत्यारोप गरिरहेका छन् । नेपाल एमाले र ओलीलाई लोकतन्त्रविरोधी र प्रतिगमनको मतियार भनिरहनुभएको छ । एमाले त नेपालको पार्टीलाई पार्टी नै स्वीकार्न तयार छैन् ।
गगन–रवि टकराव
गगन थापा नेपाली कांग्रेसभित्रको विकल्पको रुपमा उदाउँदै हुनुनुहन्छ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर वैकल्पित शक्तिका रुपमा उदाउनुभएको छ । तर, पछिल्लो पुस्ताका यी दुई नेताबीच पनि मेलमिलाप छैन् । २०७९ को आम चुनावमा गगन र रविले एकअर्कालाई सघाएको चर्चा अहिलेसम्म हुने गरेको छ । अढाइ दशकअघि रेडियोमा कार्यक्रम प्रस्तोता रहेकाे दुबै नेता चुनावमा निकट भएकाे कुरालाई बल पुग्छ । तर, त्यो सम्बन्ध अहिले यतिसम्म तिक्तापूर्ण भयो कि गगनकै जोडबलमा रविमाथि छानबिन गर्न संसदमा विशेष समिति नै बनाइयो । त्यो छानबिनले रविलाई थुनामा पुर्याएको छ । त्यसअघि २०८० मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा थापाले चुनावी सभाहरूमा लामिछानेलाई कटाक्ष गर्ने खालका टिप्पणीहरू गर्नुभएको थियो । लामिछानेले पनि कांग्रेस र थापालक्षित विभिन्न आरोप लगाउनुभएको थियो । यो श्रृंखला रवि थुनामा नजाँदासम्म जारी थियो ।
मेलमिलापको नीति भनेको तात्कालिक स्वार्थभन्दा माथि उठेर दीर्घकालीन राष्ट्रहितको पक्षमा सहकार्य गर्नु हो। तर नेपाली राजनीतिज्ञहरूले यो मर्मलाई केवल भाषण र प्रचारको विषय बनाएका छन्। सत्ता साझेदारीको नाममा अस्थायी ‘तैचुप मै चुप’ को स्थिति देखिए पनि स्थायित्व र सौहार्दता दुर्लभ छ। नेपालको राजनीतिक वातावरणमा मेलमिलापको नीतिलाई व्यवहारमा लागू गर्न राजनीतिक इच्छाशक्ति र प्रतिबद्धता आवश्यक छ। नेताहरूले आफ्नो व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता र सहकार्यका लागि प्रयास गर्नु आजको आवश्यकता हो। तर, विशेष अवस्थामा फरक विचारका दलहरुबीच समझदारी बन्दैनबनेकाे भने हाेइन ।
जस्तै संविधान बनाउन, चुच्चे नक्सा जारी गर्दा, विनाशकारी भूकम्पका बेला अभूतपूर्व मिलन देखिएकै हाे । वीपी कोइरालाको मेलमिलापको नीति अहिलेको राजनीतिक परिस्थितिमा अझ सान्दर्भिक देखिन्छ। तर दलहरू मेलमिलाप गर्न तयार भए पो !
प्रतिक्रिया