Political Hightlights

बढ्दै परराष्ट्रमन्त्री आरजुको ओझ (भिडियोसहित)

हिमालय टिभी
२०८१ भदौ ४ गते २०:४३
बढ्दै परराष्ट्रमन्त्री आरजुको ओझ (भिडियोसहित)

काठमाडौं : आरजु राणा देउवा, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी भएकाले, उहाँको नाम सधैं शक्तिशाली महिलाका रूपमा चर्चामा रहन्छ। तर उहाँ अहिले देशको परराष्ट्रमन्त्री हो । मन्त्री बाहेक व्यक्तिगत जीवनको कुरा गर्दा उहाँलाई अनेक भ्रष्टाचारको आरोप छ ।

भूटानी शरणार्थी प्रकरणदेखि टीकापुर जग्गा घोटालामा समेत जोडिनुभएका राणा पछिल्लो समीकरणबाट परराष्ट्रमन्त्री बन्नुभयो । आइतबारदेखि पाँच दिने भारत भ्रमणमा रहनुभएकी राणाले सोमबार भारतीय समकक्षीसँग दुईपक्षीय छलफल र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभयो । जहाँ उहाँको गर्विलो उपस्थिति भएको आकलन गरिएको छ ।

भारतीय जनता पार्टीसँग निकट सम्बन्ध रहेकाले पनि आरजुलाई भारतले महत्व दिएको चर्चा छ । तर राणाको उपस्थितिले भारतको नेपालप्रतिको दृष्टिकोण केही फेरिएको अड्कलबाजी सुरु भएको छ ।

नक्कली भुटानी शरणार्थी काण्ड होस् वा टीकापुर जग्गा प्रकरण, या त निजी स्कुल खोल्ने मामिलामा जनता लुट्ने अभियोग, आरजु राणा देउवाको नाम प्रायः विवादका केन्द्रमा रहने गर्दछ। आफ्ना श्रीमान् देउवाको प्रधानमन्त्रीत्वकालमा, पर्दापछाडिबाट ठूला चलखेल गर्ने आरोपले उहाँको छविलाई सधैँ विवादमा राख्ने गरेको छ ।

केहीसमयअघि भूटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई पक्राउ गरेलगत्तै राणाको नाम पोल्ने डरले रातारात गठबन्धन भत्किएको माओवादीका सांसद बताउने गर्दछन् ।
तर यसको पुष्टि भने हुन सकेको छैन । आरजुमाथि लागेको कुनै पनि आरोपको पुष्टि भएको छैन । तर टीकापुर जग्गा प्रकरणमा, जहाँ ३० बिघा जग्गा मनपरी ढंगले बिक्री-वितरण गरिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे अनुसन्धान सुरु गर्यो। यस मामिलामा २ सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरियो। राणाको नाम पनि यस प्रकरणमा जोडिए तापनि उहाँविरुद्ध कुनै मुद्दा चलाइएन । यिनै विवादित विषयका बीच राणा केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बन्नुभयो ।
धेरैले विवादित व्यक्ति मन्त्री बनेको आलोचना गरे भने केहीले त थप भ्रष्टाचार हुने संशय राखे ।

यसबीचमा गत आइतबारदेखि राणाको परराष्ट्रमन्त्रीको हैसियतमा पहिलो पाँच दिने विदेश भ्रमण भारतबाट भएको छ । धेरैले उहाँको क्षमतामाथि प्रश्न पनि उठाइरहेका थिए । तर आइतबार यता राणाको शैलीमा फरक दृष्य देखिएको छ । दिल्ली अवतरण भएपछि उहाँ कुटनीतिसँग जोडिएका पुस्तक हेर्न र पढ्न त्यहाँ स्थित चर्चित पुस्तकालय पुग्नुभएको थियो ।

धेरैले यसलाई सराहनीय कार्य मानेका थिए । सोमबार महिला परराष्ट्रमन्त्रीको रुपमा भारतीय समकक्षी एस जयशंकरसँगको भेट र दुईपक्षीय छलफलमा नेपालले राखेको हवाई रुट लगायतका विषयमा भारत सकरात्मक हुनुले राणाको उपस्थितिको चर्चा भएको छ । छलफलमा जलविद्युत् परियोजनाहरू, सीमा व्यवस्थापन, र व्यापार तथा आर्थिक साझेदारीजस्ता मुद्दाहरू समावेश थिए। यस भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट रह्यो। यस भेटलाई नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउन, प्रधानमन्त्रीस्तरीय सम्बन्धमा सन्तुलन कायम राख्न, र दुबै देशका साझा चुनौतीहरूको समाधान खोज्न महत्त्वपूर्ण मानिएको छ।

राणाको यो कूटनीतिक गतिविधिले भारतमा नेपाललाई कूटनीतिक रूपमा बलियो बनाएको चर्चा छ। हुन पनि राणाको उपस्थितिलाई प्रधानमन्त्री ओलीकै उपस्थितिका रूपमा हेरिएको छ । मोदीलाई भ्रमणको निम्तो दिनुले परराष्ट्रमन्त्री दूतका रूपमा त्यहाँ गएको देखिन्थ्यो । तर पहिलो पटक मन्त्री र पहिलो उपस्थितिमा भारतले देखाएको सदासयता र आरजुको आत्मविश्वासले भने विदेशमा आरजुले आफुलाई प्रभावशाली कूटनीतिक नेतृको रूपमा स्थापित गर्नुभएको छ।

देशमा बदनाम भए पनि विदेशमा उहाँले देशको शाख बचाएको टिप्पणी भइरहेको छ। नेपालमा विवाद र भारतमा शाखको नामले चर्चामा आउनु मन्त्री राणाको व्यक्तित्वको एउटा महत्वपूर्ण पक्ष हो। यद्यपि, नेपालको भित्री राजनीतिमा लागेका गम्भीर आरोपहरू भने अझैपनि मेटिएका छैनन्। यसबाहेक भ्रमणको पूर्ण प्रभाव र यसको वास्तविक परिणाम भने आगामी समयले मात्र स्पष्ट पार्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *