परराष्ट्रमन्त्री आरजुको लोभलाग्दो सक्रियता
![परराष्ट्रमन्त्री आरजुको लोभलाग्दो सक्रियता](https://www.himalayatv.com/wp-content/uploads/2024/08/Arju.jpg)
काठमाडौं : नेपालको कूटनीतिक सक्रियता पछिल्लो समय नयाँ उचाइमा पुगेको छ, जसको नेतृत्व परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरिरहनुभएको छ।
हालै सम्पन्न युरोप भ्रमणमा जलवायु न्याय, लैङ्गिक समानता, र समावेशिताका एजेन्डा उठाउँदै नेपालको आवाज विश्वसामु पुर्यापउनुभएकी मन्त्री राणा अहिले भारत भ्रमणमा हुनुहुन्छ। यो भ्रमणलाई नेपाली कूटनीति र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भारत भ्रमणको मिति तय गर्न सकिने अवसरका रूपमा हेरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीलाई औपचारिक निम्तो दिने चर्चा भइरहेका बेला मन्त्री राणाको भारत यात्रा नेपाल-भारत सम्बन्धलाई नयाँ दिशातर्फ लैजाने संकेतका रूपमा हेरिएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा पछिल्लो समय नेपालको कूटनीतिक जगतमा सक्रियता र प्रभावशीलताका लागि उदाहरणीय व्यक्तित्वका रूपमा देखा पर्नुभएको छ। उहाँको नेतृत्वले नेपालले आन्तरिक र अन्तर्राष्ट्रिय मुद्दाहरूमा आफ्नो उपस्थिति सशक्त रूपमा स्थापित गर्न सक्षम भएको छ। मंसिर २२ मा नेदरल्यान्ड्सको हेगमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममार्फत मन्त्री राणाले जलवायु न्यायको पक्षमा नेपालका तर्कहरू प्रस्तुत गर्नुभयो। नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय अदालतमा जलवायु परिवर्तनबाट पाएको असर र पाउनुपर्ने क्षतिपूर्तिको मुद्दा उठाएको हो। मन्त्री राणाले धनी र विकसित राष्ट्रहरूको कार्बन उत्सर्जनका कारण नेपालजस्ता हिमाली मुलुकमा परेको असरको जिम्मेवारी तिनै राष्ट्रहरूले लिनुपर्ने स्पष्ट सन्देश दिनुभयो।
बर्लिनमा नारीवादी परराष्ट्र नीति
युरोप भ्रमणकै क्रममा जर्मनीको बर्लिनमा उहाँले समानता र अल्पसङ्ख्यक अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकता औंल्याउनुभयो। साथै, नेपालले समलिङ्गी विवाहलाई मान्यता दिएको र संघीय जनगणनामा तेस्रो लिङ्ग समावेश गर्ने विश्वकै पहिलो देश बनेको कुरा प्रस्तुत गर्दै नेपालको प्रगतिशील दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नुभयो।
बेल्जियममा जलवायु न्यायको पक्षमा
बेल्जियमको बर्सेल्समा मन्त्री राणाले युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्रासँग भेट गर्दै जलवायु परिवर्तनका प्रभाव र नेपालले पाउनुपर्ने न्यायका पक्षमा सहयोगको अपिल गर्नुभयो। उहाँले युरोपेली आकासमा नेपाली वायुसेवालाई लगाइएको प्रतिबन्ध हटाउनका लागि पहल गर्न पनि आग्रह गर्नुभयो।
भारत भ्रमण र कूटनीतिक सम्बन्ध विस्तार
युरोप भ्रमण समाप्त गर्दै मन्त्री राणा भारतको नयाँ दिल्ली पुग्नुभएको छ। भारतमा उहाँले नेपाली दूतावासका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै भारतीय विदेशमन्त्री एस. जयशंकरसँग छलफल गर्ने सम्भावना छ। उहाँले नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) द्वारा आयोजित सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ। यस भ्रमणले नेपाल-भारत सम्बन्धलाई अझ बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणको मिति तय गर्न समेत यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ।
चार महिनाअघि परराष्ट्रमन्त्री बन्नुभएकी आरजु राणाको सक्रियता र कूटनीतिक चातुर्यताले केही सकरात्मक सन्देश दिएको छ। चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गराउने कूटनीतिक कौशलदेखि जलवायु न्यायको मागलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउने साहससम्म, मन्त्री राणाको नेतृत्वले नेपाललाई कूटनीतिक मानचित्रमा अझ सशक्त रूपमा स्थापित गर्न योगदान पुर्याउएको छ। नेपालको कूटनीति बहुपक्षीय मञ्चहरूमा अझ सक्रिय हुँदैछ। चाहे जलवायु न्यायको मुद्दा होस्, चाहे लैङ्गिक समानताको पक्षमा दृढ अडान, मन्त्री राणाको भूमिकाले नेपालको कूटनीतिक क्षितिजलाई विस्तार गरिरहेको छ। यही शैलीमा भारतबाट फर्कदा प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया