९९ प्रतिशत घरमा बिजुली पुगेको विद्युत प्राधिकरणको दावी पत्याउनै मुस्किल (भिडियोसहित)
काठमाडौ : सोमबारदेखि नेपालबाट दैनिक एक हजार मेगावाटभन्दा बढी बिजुली निर्यात सुनिश्चित भएको छ । तर नेपालकै अझै १८ स्थानीय तहमा राष्ट्रिय प्रसारण विद्युत् पुग्न सकेको छैन ।
कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पुगेको भनेर तथ्यांक सार्वजनिक भएको छ । तथ्यांकमा ओखलढुंगामा ९८ प्रतिशत विद्युत पुगेको भनेपनि चम्पादेवी गाउँपालिकाको वडा नम्बर तीनको तल्लो चित्रे अँध्याराेमै छ । यसले प्राधिकरणको तथ्यांक त्रुटिपूर्ण मात्रै देखाएको छैन आन्तरिक विद्युत व्यवस्थापनमा ध्यान नदिएको पनि पुष्टि भएको छ।
सोमबार हिमालय टेलिभिजनको सामाजिक सञ्जाल फेसबुकमा हरेक दिन हुने एंकरसँगको लाइभ कुराकानीमा डम्बर बाबुले आफ्नो पालिकामा विद्युत नपुगेको गुनासो गर्नुभयो । कमेन्टमा उहाँले ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित वडा नम्बर तीनको तल्लो चित्रेमा बत्ती नपुगेको लेख्नुभएको छ ।
चित्रमा हरियो रङ लगाइएको जिल्लामा प्रतिशतको आधारमा विद्युतको पहुँच लेखिएको छ। जहाँ ओखलढुंगामा ९८ दशमलव १७ प्रतिशत उल्लेख छ। तर हामीलाई सामाजिक सञ्जालमा आएको गुनासो र यसमा कतै तादम्यता मिलेको पाइँदैन । हुन त तथ्यांक अनुसार १८ स्थानीय तहमा राष्ट्रिय प्रसारण विद्युत् पुग्न नसकेको प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले लघुजलविद्युत् र सौर्य ऊर्जाबाट बिजुली उपभोग गरिरहेको भनिएको छ । तर कहिले सबैले पाउँछन् टुंगो छैन । बरु योबीचमा प्राधिकरणले थप २ सय ५१ मेगावाटसहित कुल एक हजार मेगावाट विद्युत भारतमा निर्यात गर्नेभएको छ ।
प्राधिकरणले प्रस्तुत गरेको तथ्यांकअनुसार कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पहुँच पुर्याबएको दाबी गरिए पनि, केही स्थानीय तहहरूमा अझै पनि राष्ट्रिय प्रसारण ग्रिडको पहुँच छैन। प्रदेशगत विवरण अनुसार पनि कर्णालीमा सबैभन्दा कम विद्युतीकरण भएको छ । प्राधिकरणका अनुसार चालू आर्थिक वर्षभित्र सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्या उने सरकारको घोषणालाई कार्यान्वयन गर्न तयारी भइरहेको छ।
राष्ट्रिय ग्रिड नपुगेका १८ स्थानीय तह र विद्युतीकरणमा कम प्रतिशत भएका जिल्लाहरूमा विशेष ध्यान दिन आवश्यक छ। प्राधिकरणले लघु जलविद्युत् र सौर्य ऊर्जाको माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरे पनि, दीर्घकालीन समाधानको लागि राष्ट्रिय प्रसारण ग्रिड विस्तार गर्नुपर्ने देखिन्छ ।
अध्ययन गरेर तयार पारिएको रिपोर्ट र नागरिकले महसुस गरिरहेको विषयमा असमानता देखिएको छ । ओखलढुंगामा विद्युत नै नपुगेको भनिरहँदा प्राधिकरणले प्रतिशतमा ठूलो सफलता हासिल गरेको देखाउनुले प्रतिवेदनमाथि प्रश्न उब्जाएको छ । पूर्ण विद्युतीकरण भइरहेको स्थानमा पनि बेलाबेला विद्युत कटौती हुने र लामो समयसम्म अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ भने प्राधिकरणले योजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया