आर्थिक

तिहारमा चहलपहल बढ्यो बढेन व्यापार (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक २७ गते ७:१७
तिहारमा चहलपहल बढ्यो बढेन व्यापार  (भिडियो रिपोर्टसहित)

२७ कात्तिक २०८० काठमाडौं । तिहारमा परम्परागत दियोको प्रयोग गर्नुपर्नेमा पछिल्लो समय त्यसको स्थान विद्युतीय झिलिमिलि बत्तीले लिन थालेको छ ।

माटोका पाला र केरा, सालका पातको दियो बनाएर बत्ती बाल्ने नेपाली मौलिकता भए पनि पछिल्लो समय विद्यूतीय बत्तीको प्रयोग निर्वाध भैरहँदा संस्कृति नै मासिने खतरा छ ।

माटोको दियो अर्थात पाला, केराको सुप्लो र त्यो पनि नभए पाँत गाँसेर बनाइएका दियो, रातो माटो र कमेरोले लिपिएका घर–आगन । मखमली र सयपत्री फूलका माला गाँसेर ढोका तथा झ्यालमा झुण्डाइएका घर तिहारको सौन्दर्य अनि नेपाली मौलिक परम्परा हुन् ।

बाँसुरी र मादलको धुनमा देउसी भैली खेल्दा तिहारमा छुट्टै रौनक छाउने गर्दथ्यो । तिहारमा माटाका दियो बनाउनेहरुलाई भ्याई नभ्याई हुन्थ्यो । पछिल्लो समय सहज र जताजतै पाइने प्लास्टिक र बिद्यूतीय बत्तीहरुको प्रयोग बढ्दै जाँदा परम्परागत दियोको माग घट्दै गइरहेको छ ।

शहरी क्षेत्रमा परम्परागत दियो देख्नै मुश्किल पर्न थालेको छ भने घर घरमा लहरा युक्त बिद्यूतीय बत्तीहरु व्यापक मात्रामा बाल्ने गरिएको छ । गाउँमा भन्दा शहरी क्षेत्रमा विद्यूतीय बत्तीहरुको प्रयोग अत्यधिक हुने गरेको छ । सहजै पाइन, एक पटक प्रयोग गरेपछि तिहार नसकिँदासम्म बलिरहनुका साथै झिकेर अर्को तिहारमा पनि प्रयोग गर्न मिल्ने भएकाले विद्युतीय बत्तीमा आर्कषण बढेको व्यापारी बताउँछन् ।

तिहारको लागि गत वर्ष ३६ करोड बराबरका विद्युतीय दियो, झिलिमिली बत्तीहरु आयात भएकोमा यो वर्ष १० ४० देखि ४५ करोड रुपैयाँ बराबरको बत्ती आयात भएको विद्युतीय व्यवसायी महासंघले जनाएको छ । नेपालमा ९० प्रतिशत बत्ती चीनबाट र बाँकी भारतबाट आयात हुने गरेको छ । यो पटक आयात बढे पनि व्यापार सोचेजस्तो नभएको व्यापारीको गुनासो छ ।

मौलिकता मासिँदै जाने र प्रदूषण पनि हुने भएकाले सरकारले कानूनै बनाएर तिहारमा प्लास्टिकका माला लगाउन प्रतिबन्ध लगाएको छ । तर विद्यूतीय बत्तीहरुको प्रयोगमा भने रोक लगाइएको छैन् । जस्का कारण पनि निर्वाध रुपमा विद्यूतीय बत्तीको प्रयोग बढ्दै गएको छ । विद्यूतीय बत्तीको प्रयोगले तिहारको मौलिक पक्ष भने मासिँदै जाने जोखिम बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *