ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटको फाइनलमा भोलि नेपाल र ओमान भिड्दै

१८ कात्तिक २०८० काठमाडौं । काठमाडौंमा जारी ट्वेन्टी–ट्वेन्टी विश्वकप अन्तर्गत एसिया छनोटको उपाधिको लागि भोलि नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भोलि बिहान ११ बजे ओमान र नेपालबीच प्रतिस्पर्धा हुनेछ । नेपालले बलियो टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गर्दा अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन ।
भोलि नेपाललाई समूह चरणको अन्तिम खेलमा बेहोरेको हारको बदला लिँदै उपाधि जित्ने मौका छ । समूह चरणको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।
नेपाल र ओमानबीच ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। नेपालले पछिल्ला तीन खेलमा जित निकाल्दा २ मा हार बेहोरेको छ । नेपालले गत वर्ष भएको विश्वकप छनोटका दुवै खेलमा ओमानलाई हराएको थियो।
२०२२ को फेब्रुअरीमा भएका खेलमा नेपाल ९ विकेट र ३९ रनले विजयी भएको थियो। त्यसअघि २०२२ कै फेब्रुअरीमै भएको ट्वेन्टी–ट्वेन्टी सिरिजमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। नेपाल र ओमानबीच पहिलो ट्वेन्टी(ट्वेन्टी २०१९ को अक्टोबरमा भएको थियो।
ओमानमा भएको खेलमा नेपालमाथि ओमानले ६ विकेटको जित निकालेको थियो। यसैबीच, नेपाल क्रिकेट संघ क्यानले भोलि हुने नेपाल र ओमानको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।
संघका सचिव पारस खड्काले भोलि अधिकतम १२ हजारसम्म टिकट बिक्री गर्ने र त्यसको आधा रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गर्ने जानकारी दिनुभयो । भोलि फाइनल खेलको टिकटको मूल्य ३ सय ५० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया