खेलकूद

नेपाल प्रिमियर लिग : सिजनको मैझारो

हिमालय टिभी
२०८१ पुष ७ गते १९:५५
नेपाल प्रिमियर लिग : सिजनको मैझारो

काठमाडौं : नेपाल क्रिकेट संघको महत्वाकांक्षी प्रतियोगिता नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करण शनिबार भव्यताका साथ सम्पन्न भयो । रोमाञ्चक फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि जित्यो । दर्शकको अभुतपूर्व साथ, स्तरीय विदेशी खेलाडी, आकर्षक पुरस्कार, सहयोगी फ्रेन्चाईजी र अन्तर्राष्ट्रिय प्रसारणले यो लिग पहिलो संस्करणमै विश्व क्रिकेटको नजरमा पर्न सफल भयो ।

क्यानले प्रतियोगिताको घोषणा गर्दादेखि नै नेपाली क्रिकेट समर्थकमाझ तरंग ल्याएको एनपीएलमा टोली खरिदका लागि नीजि क्षेत्रको आकर्षण मज्जैले देखियो । सुरुमा क्यानले ६ टोली समावेश गर्ने बताए पनि टोली खरिदका लागि परेको आवेदनबाट हौसिएर ८ टोली बनाइयो । १८ वटा संस्थाले टोली खरिदका लागि इच्छा देखाए पनि १६ आवेदन परे । त्यसबाट क्यानले १३ आवेदकलाई सर्टलिस्टमा राख्दा ९ टोलीबीच अन्तिम चरणमा फ्रेन्चाईजी खरिदका लागि बोलकबोल भयो । यसमा सबैभन्दा बढी ३ करोड ५७ लाख रुपैयाँमा पोखरा एभेन्जर्सको स्वामित्व नेपाल टी ट्वेन्टी प्रालिले खरिद गर्यो भने सबैभन्दा कम कर्णाली याक्सलाई १ करोड ११ लाख ७० हजारमा हिमालय बिल्डर्सले खरिद गर्योि। खेलाडी अक्सनमा लुम्बिनी लायन्सले सबैभन्दा धेरै ८४ लाख ७५ हजार रुपैयाँ खर्च गर्दा सबैभन्दा कम चितवन राइनोजले ६३ लाख रुपैयाँ खर्च गर्यो ।

टोलीहरुले विदेशी खेलाडीको कोटामा स्तरीय खेलाडी भित्र्याए । जसले एनपिएललाई विश्व स्तरमै चर्चामा ल्यायो । कर्णालीबाट खेलेका भारतीय पूर्व खेलाडी शिखर धवन यो संस्करणकै हाईप्रोफाइल खेलाडी हुन् । त्यस्तै, न्युजिल्याण्डका जिमी निशम, जनकपुर बोल्ट्स तथा न्युजिल्याण्डका मार्टिन गप्टिल विराटनगर किङ्सबाट खेले ।

पहिलो दिनदेखि नै त्रिवि क्रिकेट मैदानमा खेल हेर्ने दर्शकको उत्साजनक सहभागिता रह्यो । दर्शकको यो साथ एनपिएलले फाइनलसम्म पायो । प्रतियोगिताभर करिब डेढ लाख दर्शक मैदानमै पुगे भने त्यो भन्दा कयौं गुणा बढीले टेलिभिजन र अन्य प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण हेरे । यसले पनि सिंगो देश करिब १ महिनासम्म क्रिकेटमय बन्यो ।

तर एनपीएलका अधिकांश खेलमा विदेश खेलाडीहरू नै हाबी भए । सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा जनकपुरका लाहिरु मिलान्था रहे । १० खेलमा उनले कुल २९३ रन बनाए । २८६ रन बनाएका चितवनका रवी बोपारा यो सुचीको दोस्रो र लुम्बिनीका कप्तान रोहित पौडेल २७९ रन सहित तेस्रो स्थानमा रहे । लुम्बिनीविरुद्धको खेलमा पोखराका ओपनर दिनेश खरेल र आन्दैस गौसले नटआउट १७६ रनको साझेदारी गरे । जुन एनपिएलकै उच्च साझेदारी बन्यो ।

प्रतियोगितामा कुल २९ अर्धशतक बन्दा रवी बोपाराले ३ वटा अर्धशतक बनाए । ४ जना ब्याटरले २-२ अर्धशतक प्रहार गरे । यसमा नेपाली खेलाडीका रुपमा रोहित पौडेलमात्र रहे । प्रतियोगितामा पहिलो अर्धशतक बनाउने खेलाडी भने मार्टिन गप्टिल हुन् । एनपिएलमा १ मात्र शतक पोखराका आन्द्रेस गौस बने । जनकपुरका निसमले सर्वाधिक २३ छक्का र जनकपुरका मिलान्थाले सर्वाधिक ३५ वटा चौका प्रहार गरे ।

सुदूरपश्चिमका स्कट कुगेलेइन र जनकपुरका ललित राजवंशीले सर्वाधिक १७-१७ विकेट लिए । फिल्डिङमा सबैभन्दा बढि क्याच जनकपुरका अनिल साहले लिए । एउटै खेलमा पाँच क्याच सहित उनले कुल १२ वटा क्याच लिए ।
विकेटकिपरका रुपमा सबैभन्दा सफल जनकपुरका मिलान्था र चितवन विपिन रावल बने । उनीहरुले ५-५ ब्याटरलाई स्टम्पिङ गरे ।

रनका आधारमा सुदूरपश्चिमले विराटनगरविरुद्ध निकालेको ९० रनको जित र विकेटको आधारमा पोखराले लुम्बिनीविरुद्ध निकालेको १० विकेटको जित सर्वाधिक फराकिलो अन्तरको जित रह्यो । लुम्बिनी र विराटनगरबीचको खेल हाईस्कोरिङ खेल बन्यो । लुम्बिनीले एनपिएलकै उच्च लक्ष्य १९१ रन बनाउँदा विराटनगरले १ बल अगाडिनै ८ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । सबैभन्दा कम जनकपुरले सुदूरपश्चिमविरुद्ध ५१ रनमात्र बनाएको थियो ।

मैदानमा उतारचढावपूर्ण नतिजा आउँदा पहिलो संस्करणले नेपाली क्रिकेटको उचाइ बढाएकोमा कुनै दुविधा छैन् । विश्व क्रिकेटमा फरक पहिचानका लागि सङ्घर्षरत नेपाल एनपिएलकै कारण फेरी एक पटक चासो र चर्चाको विषय बन्न पुग्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *